मिति : २०८१ माघ ३०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अञ्जिला’ टिजरमा एञ्जिलाको संघर्षदेखि सफलतासम्मको कथा

फिल्मीखबर, काठमाडौं, 2025/02/11

Dayahang Rai, Anjila Tumbapo Subba

 

आगामी फागुन २९ गते (होली)बाट प्रदर्शनमा आउने तयारीमा रहेको मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमार्फत् सार्वजनिक झन्डै २ मिनेट लम्बाईको टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले स्कूले जीवनदेखि फुटबल खेलाडी बन्न गरेको संघर्ष र राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा समेटिएको छ ।

फिल्ममा एञ्जिला स्वयं शीर्ष भूमिकामा छिन् । उनको बुबाआमाको भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बा छन् । बुबा फुटबलको विपक्षमा र आमा पक्षमा देखिएका छन् । टिजरमा एञ्जिलाका बुबाले ‘तेरो फुटबलले मेरो इज्जत गयो’ भनिरहँदा आमाको एञ्जिलाप्रति विश्वास देखिन्छ । एञ्जिला महिला फुटबल टिमकी गोलरक्षक हुन् ।

प्रेम कुमार श्रेष्ठ निर्माता रहेको ‘अञ्जिला’मा सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, सुरज तमु लगायतको पनि अभिनय छ । निर्माता श्रेष्ठको पनि फिल्ममा महत्त्वपूर्ण भूमिका छ । निर्देशक चाम्सले एञ्जिलाको वास्तविक कथामा फिल्म आधारित रहेको बताए । इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश फिल्मले दिन खोजेको उनको भनाइ छ ।

फिल्मको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्मातामा छन् । फिल्मको तीन साता अगाडि प्रचारात्मक गीतको रुपमा ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको थियो, जसलाई युट्युबमा २० लाख बढीले हेरिसकेका छन् ।

फिल्मको गत मंसिर २३ गते हङकङमा वर्ल्ड प्रिमियर भएको थियो भने अब युकेमा प्रिमियरको आयोजनाको लागि निर्देशक चाम्स र निर्माता श्रेष्ठ लन्डन पुगेका छन् । नेपालभन्दा अगाडि अमेरिका, अस्ट्रेलिया र  जापानमा पनि फिल्म प्रदर्शनको तयारी भइरहेको छ । निर्माता श्रेष्ठले फिल्मको विश्वव्यापी कमाइबाट कप्तान एञ्जिलाका लागि काठमाडौंमा घर बनाइदिने घोषणा गरिसकेका छन् ।