मिस नेपाल पृष्ठभूमिका धेरैले फिल्मी दुनियाँमा कदम राखेका छन् । तर, कमैको करिअरले सुखद् उडान भरेको छ । अब नेपाली फिल्म क्षेत्रले अभिनेत्रीको रुपमा अर्को मिस नेपाल पाएको छ । उनी हुन्, नम्रता श्रेष्ठ । सन् २०२० मा मिस नेपाल बनेकी उनको पहिलो फिल्म ‘रंगी’ आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनको जोडी अभिनेता सलोन बस्नेतसँग बाँधिएको छ ।
बाल्यकालदेखि नै नम्रतालाई फिल्मप्रति रुचि थियो । तर, उनमा फिल्म गर्न सक्छु भन्ने आत्मविश्वास थिएन । मिस नेपालको उपाधि जितेपछि भने उनले मासलाई ‘फेस’ गर्न थालिन् । थुप्रै प्रोजेक्टमा जोडिइन् । कम्युनिकेशन पनि सुध्रिँदै गयो । त्यसपछि फिल्म गर्ने निर्णयमा पुगेकी उनले आफैँसँग अठोट गरेकी रहेछिन्, ‘२०२४ मा फिल्म गर्नेछु ।’ अन्ततः उनको त्यो सपना पनि पूरा भएको छ ।
नम्रता भन्छिन्, ‘सबै कुरामा हात हालिसकेपछि मैले सोचेँ कि अब गर्न बाँकी भनेको फिल्म हो । त्यसबेला अब म फिल्म गर्न तयार छु भन्ने भयो । २०२४ मा म फिल्म गर्छु भन्ने सोचेपछि नै ‘रंगी’को बारेमा थाहा पाएँ । र, क्यारेक्टरले पनि लोभ्यायो ।’ यो फिल्मबाट नम्रतालाई अफरभन्दा पनि उनले नै काम गर्ने इच्छा देखाएर निर्मातासम्म कुरा पुर्याएकी रहेछिन् । र, उनी अनुबन्धित पनि भइन् ।
फिल्ममा आउनुअघि नम्रतालाई लाग्थ्यो रे, ‘फिल्म भनेको ‘इन्टरटेन्मेन्ट’ (मनोरञ्जन) मात्र हो ।’ तर, फिल्ममा अभिनय गरिसकेपछि उनको बुझाइमा परिवर्तन आएको छ । अहिले उनलाई लाग्छ, ‘फिल्म भनेको त इन्टरटेन्मेन्ट मात्र होइन आर्ट पनि हो । र, फिल्म राम्रो हुन स्क्रिप्ट राम्रो हुनुपर्छ ।’ अहिलेको समयमा हिरो-हिरोइन नभइ कलाकारको अभिनय हेरिन्छ भन्ने पनि उनले बुझेकी छन् ।
‘अहिले हिरो-हिरोइनभन्दा पनि फिल्मको कथा र कलाकारको अभिनय हेरिन्छ । ‘रंगी’मा मैले राम्रो कलाकारसँग काम गर्न पाएको छु भन्नेमा खुसी छु । यो फिल्ममा मैले साँचिक्कै अभिनय गर्न पाएँ,’ नम्रता भन्छिन्, ‘भविष्यमा ग्ल्यामरस रोलसँगै आर्टवाला रोलमा पनि काम गर्ने इच्छा छ । तर, मलाई ‘टाइपकास्ट’ चाहिँ हुनु छैन । टिपिकल हिरोइनभन्दा पनि फरक-फरक भूमिका गर्न मन छ ।’