प्रणय दिवसको दिन पारेर फागुन २ गतेबाट प्रदर्शन हुन लागेका दुई फिल्म ‘दुःखी आत्मा’ र ‘रंगी’को देशभरका मल्टीप्लेक्सहरूमा बुकिङ खुला भइसकेको छ । तर, दुई फिल्मको शोमा आकाश-जमिनको अन्तर देखिन्छ । हल सञ्चालकहरुले ‘दुःखी आत्मा’लाई बढी काँध थापेका छन् । यो फिल्मले देशभर लगभग दुई सय शो प्राप्त गरेको छ भने ‘रंगी’ ६०/७० हाराहारी शोमा खुम्चिएको छ ।
सबैभन्दा धेरै हल रहेको मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले ‘दुःखी आत्मा’लाई देशभर कुल ६५ शो उपलब्ध गराएको छ । यो उल्लेख्य शो हो । यही चेनमा ‘रंगी’ भने कुल १६ शोमा सीमित छ । शोमा यही किसिमको भिन्नता अन्य मल्टीप्लेक्सहरूमा पनि छ । दोस्रो ठूलो चेन आइएनआइले चार स्टेशनमा गरी ‘दुःखी आत्मा’लाई १७ शो बाँड्दा ‘रंगी’लाई भने ४ शोमा सीमित गराइएको छ ।
त्यस्तै, काठमाडौं उपत्यकाभित्र सञ्चालित वान् सिनेमाजको नयाँ बानेश्वर र कालीमाटी हलमा गरी ‘रंगी’लाई ३ र ‘दुःखी आत्मा’लाई ९, एफक्यूबमा ‘रंगी’लाई २ र ‘दुःखी आत्मा’लाई ५, विएसआरमा ‘रंगी’लाई १ र ‘दुःखी आत्मा’लाई ४, बिग मुभिजमा ‘रंगी’लाई १ र ‘दुःखी आत्मा’लाई ३ शो छ । मोफसलमा रहेका अधिकांश मल्टीप्लेक्सहरूले पनि यही हिसाबले दुई फिल्मलाई शो बाँडेका छन् ।
‘दुःखी आत्मा’ले जुन संख्यामा शो प्राप्त गरेको छ, त्यसअनुरुप अकुपेन्सी पनि हुन सकेको खण्डमा फिल्मको ‘ओपनिङ’ आक्रामक हुनेछ । ‘रंगी’ भने शोमै मार खाएको छ । यद्यपि, ‘वर्ड अफ माउथ’ बलियो भएर हलमा दर्शकको चाप बढेको अवस्थामा फिल्मको शो वृद्धि हुँदै जानेछ । दुवै फिल्म फरक कथामा बनेकाले दर्शकलाई आफ्नो रुचिअनुसार रोजीछानी फिल्म हेर्न पाउने सुविधा छ ।
सुरेश न्यौपानेको निर्देशन रहेको ‘रंगी’मा सलोन बस्नेत, दीलिप रायमाझी, नम्रता श्रेष्ठ, आयुषी ढकाल आदिको अभिनय छ । यसमा सलोनले एकल बाबुको भूमिका निभाएका छन् । आयुषी उनको छोरी बनेकी छन् । यस्तै, दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुःखी आत्मा’मा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, लोकेन्द्र लेखक, शिशिर वाङ्गदेल लगायतको अभिनय रहेको छ ।