मंसिरदेखि नेपाली फिल्मको व्यापारमा शिथिलता देखिएको छ । निरन्तर फिल्महरु प्रदर्शन भइरहे पनि कुनैले व्यापारिक सफलता पाउन सकेका छैनन् । माघमा मात्र ७ वटा फिल्म फ्लप भए । अब फागुनको सुरुवात दुई फिल्म ‘रंगी’ र ‘दुःखी आत्मा’बाट भएको छ । शुक्रबार (आज)बाट प्रदर्शनमा आएका यी दुई फिल्मले शिथिल बनेको बक्स अफिस चलायमान बनाउने अपेक्षा गरिएको छ ।
दुवै फिल्म फरक-फरक विषयमा बनेका छन् । ‘रंगी’ले बाबु-छोरीबीचको भावनात्मक सम्बन्धको कथा भन्छ । एकल बाबुले सन्तान हुर्काउन गरेको दुःख र मिहिनेतमा फिल्म आधारित छ । यसमा अभिनेता सलोन बस्नेलले बाबुको भूमिका निभाएका छन् भने बाल कलाकार आयुषी ढकाल उनको छोरीको भूमिकामा छिन् । सलोन स्वयंको लगानीमा बनेको ‘रंगी’का निर्देशक सुरेश न्यौपाने हुन् ।
त्यस्तै, दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘दुःखी आत्मा’ले यौन दुर्बलताको विषय उठाएको छ । सम्भोगको क्रममा लिङ्गमा उत्तेजना नहुने समस्याबाट पीडित पात्रको कथामा फिल्म आधारित छ । यो पात्रको भूमिकामा अभिनेता दयाहाङ राईले अभिनय गरेका छन् । उनको जोडी बनेर अभिनेत्री आँचल शर्मा प्रस्तुत छिन् । नेपाली फिल्ममा यौन दुर्बलताको विषय उठाइएको यो पहिलोपटक हो ।
यी दुई फिल्ममध्ये शो संख्यामा ‘दुःखी आत्मा’ केही अगाडि देखिएको छ । यसले देशभर दुई सय हाराहारी शो प्राप्त गरेको छ भने ‘रंगी’लाई लगभग ६० शो छ । तर, दुवै फिल्मको बुकिङ सुखद् देखिएको छैन । अब ‘वर्ड अफ माउथ’ कस्तो रहन्छ, त्यसले दुवै फिल्मको व्यापारिक भविष्य निर्धारण गर्नेछ । यी दुवै फिल्मलाई बक्स अफिसमा बलिउड फिल्म ‘छावा’ ठूलो चुनौतीको रुपमा छ ।