भ्यालेनटाइन डेको सन्दर्भ पारेर नयाँ फिल्म ‘कार्की साइँला’को घोषणा गरिएको छ । शुक्रबार थिम पोस्टरमार्फत् फिल्म निर्माणको घोषणा गर्दै कथावस्तुबारे जानकारी गराइयो । पोस्टरमा पहाडी क्षेत्रमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियालाई देख्न सकिन्छ । ग्रामीण जीवनमा आधारित भएर फिल्म बन्न लागेको पोस्टरले प्रष्ट पार्छ ।
कर्ण बहादुर फिल्मसको ब्यानरमा बन्न लागेको फिल्ममा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । बालकुमार राई र श्याम मगरको लगानी रहने फिल्मको प्रस्तुतकर्तामा कृष्ण भगत चाम्लिङ छन् ।
निर्देशक बस्नेतले भुइँमान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिने बताए । ‘फिल्मको मुख्य पात्र नै भरिया हो । उसले गाउँभरिका सबै मान्छेहरुलाई रिझाएर जीविकोपार्जनका लागि भारी बोक्ने काम गर्छ । त्यही पात्रको संघर्षलाई फिल्मले देखाउनेछ,’ उनले भने ।
डम्बरबहादुर राईको छायांकन रहने फिल्मको कथा उनी स्वयंको हो । पटकथा तथा संवाद भने अजित लामिछानेले तयार पारेका हुन् । जीवनाथ गौतमको गीत लेखन रहेको फिल्मको छायांकन धनकुटाको सहिदभूमि गाउँपालिका क्षेत्रमा गरिने निर्देशक बस्नेतले जानकारी दिए । उनका अनुसार यतिबेला फिल्मका लागि कलाकार छनोटको काम भइरहेको छ ।