टिजर र ट्रेलर रिलिजपछि चर्चामा रहेको फिल्म ‘दुःखी आत्मा’ प्रणय दिवसको दिन पारेर शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । यौन दुर्बलताको विषयमा आधारित भएर बनेको फिल्मले रिलिजको पूर्वसन्ध्यामा बिहीबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा उत्साहजनक प्रतिक्रिया प्राप्त गर्यो । प्रिमियरमा उपस्थित प्रायःले उठाउनैपर्ने विषयमा रमाइलो फिल्म बनेको धारणा व्यक्त गरे ।
निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले इरेक्टाइल डिसफङ्सनजस्तो चुनौतीपूर्ण विषयमा फिल्म बनाउने आँट गरेकोमा निर्देशक दीपेन्द्र लामालाई धन्यवाद दिइन् । ‘यो उठाउनै पर्ने विषय थियो । यस्तो विषय उठाउन चुनौती पनि छ । यसैले दीपेन्द्र लामालाई धन्यवाद दिनुपर्छ । उहाँ सधैं फरक विषयमा फिल्म बनाउनुहुन्छ । यो त झनै फरक विषयमा छ,’ उनले भनिन् ।
अभिनेत्री लुनिभा तुलाधरले पछिल्लो समय फरक-फरक विषयमा फिल्म बनिरहेकोमा खुसी व्यक्त गरिन् । ‘अहिले मानसिक स्वास्थ्य, यौन स्वास्थ्य, लैङ्गिक अल्पसंख्यकको कथामा फिल्म बनिरहेका छन् । यसैले मलाई लाग्छ, अहिले नेपाली फिल्ममा राम्रो समय चलिरहेको छ,’ उनले ‘दुःखी आत्मा’बारे भनिन्, ‘यो रमाइलो फिल्म छ । हेर्दा मज्जा आउँछ ।’
‘फर्की फर्की’ निर्देशक सुयोग गुरुङले फिल्मले गम्भीर विषयलाई हास्य शैलीमा प्रस्तुत गरेको प्रतिक्रिया दिए । ‘मलाई फिल्म दामी नै लाग्यो । मैले फिल्म हेर्दा पेट मिचिमिचि हाँसेको धेरैपछि हो । फिल्मले एकदमै गम्भीर र संवेदनशील विषय उठाएको छ । र, त्यसमा जसरी ह्यूमर मिसाइएको छ, त्यो गजब छ,’ उनले भने । यो फिल्म हरेक उमेरका दर्शकले हेर्नुपर्ने सुयोगको धारणा छ ।
प्रिमियरमा निर्देशकहरु नविन सुब्बा, दीपक रौनियार, ज्ञानेन्द्र देउजा, निर्माताहरु अर्जुन कुमार, विनोद पौडेल, अभिनेत्री उषा रजग, कथावाचक साइग्रेस पोखरेल, मोडल उषा उप्रेती लगायत पनि पुगेका थिए । उनीहरुले अहिलेसम्म यस्तो विषयमा फिल्म नबनेको बताउँदै कथावस्तु, प्रस्तुति, संवाद, कलाकारहरुको अभिनयको प्रशंसा गरे ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, दीया मास्के, आशान्त शर्मा, लुनिभा तुलाधर लगायतको अभिनय रहेको छ । फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । सम्भोगको क्रममा लिङ्गमा उत्तेजना नहुने समस्याबाट पीडित पात्रको कथामा फिल्म आधारित छ ।