अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि एकसाथ काम गरेको पहिलो फिल्म ‘भाइरल गोर्खे’ आगामी जेठ ३० गतेबाट प्रदर्शनमा आउने भएको छ । भ्यालेनटाइन डेको अवसरमा दुईवटा पोस्टर सार्वजनिक गर्दै निर्माताले उक्त मितिमा फिल्म प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।
प्रदर्शन मितिसहित सार्वजनिक दुई पोस्टरमध्ये एउटामा अभिनेता सौगात मल्ल मात्र चित्रित छन् । उनले फलामको ढक उचालेर बनाएको टिकटक भिडियोमा लाखौं लाइक्स आएको देखाइएको छ । यसले उनको पात्र टिकटकमा भाइरल रहेको प्रष्ट पार्छ । अर्को पोस्टरमा भने सौगात र सृष्टि रोमान्टिक भावमा प्रस्तुत छन् । दुवै एकअर्कालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ ।
निगम श्रेष्ठको निर्देशनमा तयार भएको फिल्ममा सौगात र सृष्टिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमला लगायतको अभिनय छ । धमलाले फिल्ममा पत्रकारकै भूमिकामा अभिनय गरेका छन् । भाइरल प्रवृत्तिको पछाडि लाग्दाको प्रभाव र असरको परिणाम फिल्मले देखाउने निर्देशक श्रेष्ठले जानकारी दिए ।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता तथा भुवन अधिकारी र निखिल पौडेल सह-निर्मातामा छन् । फिल्मलाई अमर महर्जनले छायांकन गरेका हुन् ।