कानुनी झमेला पार गर्दै गत माघ १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘एक्टर : टेक वन’ व्यापारिक रुपमा असफल भइसकेको छ । निर्माता स्वयंले फिल्म नचलेको स्वीकार गरिसकेका छन् । दर्शक नै नआएपछि अधिकांश हलहरुले पनि फिल्म उतारिसकेको अवस्था छ । खल्ती एपमा शनिबारका लागि फिल्मको देशभर एउटा मात्र शो देखिन्छ । त्यो शोमा पनि बुकिङ निकै दयनीय छ ।
तेस्रो हप्तामा आइपुग्दा एउटा मात्र शो बाँकी भएपछि निर्माताले आइतबारबाट फिल्मको स्थगित गर्ने घोषणा गरेका छन् । शुक्रबार ‘एक्टर’का निर्माताविरुद्ध अनुचित लाभ लिन खोजेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेपछि फिल्मको दुई निर्माण कम्पनी अधृत फिल्मस् र अ मोती फिल्मस्ले विज्ञप्ति जारी गर्दै मुद्धा किनारा लागेपछि फिल्मलाई पुनः प्रदर्शन गर्ने जनाएका छन् ।
अदालतको आदेशमा अचानक फिल्मको प्रदर्शन रोकिन पुग्दा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘अग्रिम टिकट बुकिङमार्फत नेपालमा करिब ४० लाख रुपैयाँको टिकट बिक्री भइसकेको र विदेशमा पनि टिकट बिक्री भइसकेको अवस्थामा एक्कासी फिल्मको प्रदर्शन रोकिँदा हामीले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्यो भने मानसिक आघात पनि सहनुपरेको छ ।’
अदालतबाट फिल्मको प्रदर्शन रोक्न आदेश आएपछि ‘एक्टर’ पक्षबाट आर्थिक ब्ल्याकमेलिङको सामना गर्नुपरेको समेत विज्ञप्तिमा उल्लेख छ । फिल्म चलाउन बाध्यतावश प्रस्ताव स्वीकार गरेको भए पनि हालै सो क्रियालाई गलत ठहर गर्दै अर्को पक्ष डायस्पोरा इन्टरटेन्मेन्ट प्रालिका सञ्चालक सम्राट थापाविरुद्ध अदालतमा ‘अनुचित सम्वृद्धि’को मुद्दा दर्ता गरिएको विज्ञप्तिमा जनाइएको छ ।
माघ १३ गते ‘एक्टर’का निर्माताले नाम चोरीको आरोपमा ‘एक्टर : टेक वन’विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए । त्यसैको आधारमा अदालतले फिल्मको प्रदर्शन रोक्न आदेश जारी गरेको थियो । यसपछि ‘एक्टर : टेक वन’का निर्माताले ‘एक्टर’का निर्मातालाई १५ लाखको चेक दिएर सहमति गरेका थिए । त्यही चेक रद्ध गर्न माग गर्दै अदालतमा मुद्धा हालिएको छ ।