मिति : २०८१ फाल्गुन ७, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युएईले दिएन ‘दुःखी आत्मा’लाई रिलिज अनुमति, बहराइनमा पनि रोकियो

फिल्मीखबर, काठमाडौं, 2025/02/15

dukhi aatma

 

प्रेम दिवसको दिन पारेर शुक्रबारबाट नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको फिल्म ‘दुःखी आत्मा’लाई युएईमा भने प्रतिबन्ध लगाइएको छ । दुईपटक सेन्सर गर्दा पनि ‘युएई मिडिया काउन्सिल’ले रिलिज अनुमति नदिँदा युएईमा बस्ने नेपालीहरु फिल्म हेर्नबाट बञ्चित भएका छन् । युएईमा फिल्म सेन्सर पास नहुँदा अर्को देश बहराइनमा पनि फिल्मको रिलिज रोकिएको छ ।

युएईमा फिल्मको दुईपटक सेन्सर गरिएको थियो । तर, दुवैपटक फिल्म सेन्सर पास हुन सकेन । मिडिया काउन्सिलको निर्देशन बमोजिम केही दृश्य काँटछाँट गरेर दोस्रो पटक सेन्सरमा लैजाँदा समेत फिल्म पास नभएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए । मिडिया कन्टेन्टको सीमाभित्र नपरेका कारण युएईले फिल्म रिलिजमा रोक लगाएको हो ।

युएईको ‘मिडिया काउन्सिल’ले गरेको निर्णय बहराइनमा पनि लागू हुन्छ । यसैले बहराइनमा समेत ‘दुःखी आत्मा’को रिलिज रोकिन पुगेको छ । तर, अर्को देश कतारमा फिल्म सेन्सर पास भएर शुक्रबारबाट प्रदर्शनमा पनि आइसकेको छ । कतारले फिल्मको कुनै दृश्य काँटछाँट नगरी रिलिजको अनुमति दिएको निर्देशक लामाले बताए ।

‘दुःखी आत्मा’ले व्यापारमा सुधारका लागि घरेलु बक्स अफिसमा संघर्ष गरिरहेको छ । फिल्मको ओपनिङ अपेक्षाकृत हुन सकेन । शनिबार पनि व्यापारमा खासै वृद्धि भएन । अब आइतबारबाट कामकाजी दिन सुरु हुने भएकाले फिल्मलाई थप चुनौती हुनसक्छ । यद्यपि, फिल्मलाई दर्शकीय प्रतिक्रिया राम्रो छ । प्रायःले कथावस्तु र कलाकारको अभिनय मन पराएका छन् ।

फिल्मले यौन दुर्बलता (इरेक्टाइल डिसफङ्सन)को विषय उठान गरेको छ । सम्भोगको क्रममा लिङ्गमा उत्तेजना नहुने समस्याबाट पीडित पात्रको कथामा फिल्म आधारित छ । यो पात्रको भूमिकामा अभिनेता दयाहाङ राईले अभिनय गरेका छन् । उनको जोडी बनेर अभिनेत्री आँचल शर्मा प्रस्तुत छिन् । हिमाल कडरियाको लगानी रहेको फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका हुन् ।

Most Visited News (monthly)