मिति : २०८२ वैशाख ६, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बेलायत प्रिमियरमा ‘अञ्जिला’को प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2025/02/16

ANJILA UK PREMIERE1

 

महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित भएर बनेको फिल्म ‘अञ्जिला’को बेलायतको एल्डरसटस्थित एम्पायर हलमा शनिबार प्रिमियर गरिएको छ । बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेको प्रमुख अतिथ्यतामा भएको प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको निर्देशक मिलन चाम्सले जानकारी दिए ।

प्रिमियरमा सहभागी हुन नेपालबाट निर्देशक चाम्ससहित फिल्मकी मुख्य कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ र सह-निर्माता विनोद अग्रवाल बेलायत पुगेका थिए । प्रिमियरमा निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान र सञ्चारकर्मी नरेश भट्टराई पनि उपस्थित थिए । नेपालमा जारी अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका कारण एञ्जिला भने बेलायत प्रिमियरमा उपस्थित हुन सकिनन् ।

प्रिमियरमा राजदूत घिमिरेले ‘अञ्जिला’ले खेल जगतमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । ‘म आज साँच्चै नै गर्व गरिरहेको छु । उहाँहरुले यस्तो राम्रो बायोपिक लिएर आउनुभएको छ, जसले खेल जगतमा सकारात्मक प्रभाव पार्नेमा विश्वस्त छु । नेपालका उदयमान खेलाडीहरुमाथि फिल्म बन्न थाल्नु खुसीको कुरा हो,’ उनले भने ।

प्रिमियरमा निर्देशक चाम्सले खेल क्षेत्रको विकास र खेलाडीहरूको सङ्घर्षलाई उजागर गर्न फिल्म बनाएको बताए । फिल्मले खेल क्षेत्रको उन्नतिमा भूमिका खेल्ने उनको विश्वास छ । ‘नेपाली खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्न र खेलाडीको कथा दर्शकसम्म पुर्‍याउन ‘अञ्जिला’ बनाएका हौं,’ चाम्सले भने, ‘नेपाली खेल क्षेत्रमा अझै धेरै कथाहरु छन्, जसलाई फिल्ममार्फत विश्वसामु लैजान सकिन्छ ।’

प्रिमियरमा ‘अञ्जिला’ निकै प्रभावशाली र प्रेरणादायी रहेको प्रतिक्रिया मिलेको निर्माता प्रेम कुमार श्रेष्ठले बताए । नेपालमा खेलाडी बन्न कति कठिन रहेछ भन्ने फिल्म हेरेपछि महसुस भएको प्रतिक्रिया दर्शकहरुबाट प्राप्त भएको उनको भनाइ छ । उनका अनुसार फिल्म हेर्दा कति दर्शक भावुक पनि भएका थिए । बेलायतमा मिलेको प्रतिक्रियाले आफू उत्साहित भएको उनले बताए ।

 

ANJILA UK PREMIERE3


फिल्मको यसअघि हङकङमा पनि प्रिमियर गरिएको थियो । अब अमेरिका, अस्ट्रेलिया र जापानमा रिलिज गरिँदैछ । निर्माता श्रेष्ठका अनुसार प्रिमियरबाट सङ्कलित सबै रकम एञ्जिलाका लागि काठमाडौंमा घर बनाउन प्रयोग हुनेछ । एञ्जिलाले आफूलाई प्राप्त हुने घरलाई भविष्यमा  फुटबल एकेडेमीका रूपमा विकास गर्ने योजना बनाएकी छन् ।

‘अञ्जिला’ नेपालमा यही फागुन २९ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा कप्तान एञ्जिलासहित सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्मको छायाङ्कन सुदीप बरालले गरेका हुन् । एञ्जिलाले फुटबल खेलाडी बन्न गरेको संघर्षदेखि राष्ट्रिय टिमको कप्तान हुँदासम्मको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।