आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउन लागेको क्राइम-थ्रिलर फिल्म ‘११:५५’को टिजर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक १ मिनेट ३४ सकेण्ड लम्बाईको टिजरमा पात्रहरुबीचको लभ, रोमान्स, धोका र बदलाको कथा समेटिएको छ । विश्वास गरिएका व्यक्तिबाटै समस्यामा परेका पात्रहरुको कथामा फिल्म आधारित रहेको टिजरले प्रष्ट पार्छ ।
केशव पाण्डेको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी, सागर खनाल लगायतको अभिनय छ । फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।
श्याम शर्मा र सरोजा शर्माको लगानी रहेको फिल्ममा अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठको साउण्ड डिजाइन, प्रद्युमन मिश्रको डिओपी तथा रामशरण उप्रेतीको सिनेमेटोग्राफी छ । फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन् ।