मिति : २०८१ फाल्गुन ८, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्यूएफएक्स चेनले शो नदिएको भन्दै भावुक बने सलोन

फिल्मीखबर, काठमाडौं, 2025/02/16

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रंगी’ बुकिङ खुलेको समयदेखि नै हलहरुको उपेक्षामा पर्‍यो । फिल्मले पहिलो दिन देशभर ६० शो पनि पाएन । एकैदिन प्रदर्शनमा आएको अर्को फिल्म ‘दु:खी आत्मा’को शो दुई सय बढी थियो । नेपालकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘रंगी’लाई शोमा सबैभन्दा बढी चेपेको देखिन्छ । यो चेनले शुक्रबार ३६ बढी पर्दामा जम्मा १६ शो दिएको थियो ।

शनिबार काठमाडौंका केही हलमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका फिल्मका निर्माता एवं अभिनेता सलोन बस्नेत क्यूएफएक्स चेनप्रति असन्तुष्ट देखिए । क्यूएफएक्सले सुरुदेखि नै आफूलाई पेलिरहेको उनको गुनासो थियो । धेरै फिल्म हुने भएकाले कम शो पाउने जानकारी हुँदा पनि आफू तयार भएको स्मरण गर्दै उनले दर्शकले फिल्म रुचाउँदा समेत क्यूएफएक्स चेनले शो नदिएको बताए ।

‘क्यूएफएक्सले मलाई सुरुदेखि नै पेलिरहेको जस्तो भइराखेको छ । फिल्म धेरै हुने भएकाले कम शो मिल्न सक्छ भन्दा म त्यसका लागि पनि तयार भएको थिएँ । किनकि, मलाई मेरो फिल्मप्रति विश्वास थियो । त्यही विश्वास लिएर म अगाडि बढेँ । तर, ललितपुर जिल्लाको एउटा मात्र हल लबिममा मेरो फिल्मको शो नै आउँदैन । बल्लबल्ल एउटा शो आउँछ, त्यो पनि बिहानैको,’ उनले भने ।

 

salon basnet


सलोनले चलचित्र विकास बोर्डमा गएर नेपाली र विदेशी सबै फिल्मको बक्सअफिस रिपोर्ट हेर्न समेत चुनौती दिएका छन् । ‘बोर्डमा गएर रिपोर्ट हेरौं । ‘रंगी’को राम्रो व्यापार छैन, त्यही भएर शो हटायौं भनेर भन्नुहुन्छ भने म तयार छु । तर, मेरै फिल्मलाई चाहिँ शो पुगेन भन्नुहुन्छ । फिल्मले राम्रो गर्दा गर्दै पनि मेरै फिल्मले शो किन पाउँदैन ? मैले कसको के विगारिदिएको छु ?,’ उनले प्रश्न गरे ।

नेपाली फिल्मलाई हलहरुले साथ नदिने हो भने नयाँ निर्माताहरू हतोत्साहित हुने सलोनको भनाइ छ । नेपाली फिल्मलाई नेपालमा व्यापार गर्न ठाउँ दिनुपर्ने बताउँदै उनले अगाडि भने, ‘मैले नेपाली फिल्म बनाइरहेको छु भने नेपालमा व्यापार गर्ने ठाउँ दिनुपर्‍यो नि ! तर, मलाई हलहरुले ठाउँ नै दिनुहुन्न । म कहाँ गएर फिल्म प्रदर्शन गर्नु ? युट्युबमै रिलिज गर्ने हो भने हलमा किन चलाउनु ?’

फिल्मले क्यूएफएक्स चेनमा पर्याप्त शो नपाएको विषयमा सञ्चारकर्मीहरूसँग बोल्ने क्रममा सलोन भावुक समेत बन्न पुगे । ‘हामीले नेपालमै बसेर राम्रो फिल्म बनाउने प्रयास गरेका छौं । जीवन यही अर्पण गरेका छौं । म टनाटन पैसा भएर फिल्म बनाउन आएको होइन । ५ वर्षको उमेरदेखि मैले फिल्ममा काम गर्दै आएको छु,’ यति भन्दै गर्दा उनको गला अवरुद्ध भयो । उनी बोल्नै सकेनन् ।

सलोनसँग हल ‘भिजिट’मा पुगेका निर्देशक सुरेश न्यौपाने पनि क्यूएफएक्सले शो नदिएको विषयमा आक्रोशित देखिए । सुरुदेखि नै क्यूएफएक्स चेनले आफूहरूलाई पेलेको उनको भनाइ छ । ‘शो पाउन भिख नै मागेको जस्तो भइरहेको छ । पैसा र मिहिनेत हाम्रो गएको छ । हामीले बनाएको फिल्मबाट हल चलिरहेका छन् । तर, हामीले नै शोका लागि भिख मागिरहनु परेको छ,’ सुरेशले भने ।

शो नै नपाउने हो भने फिल्म कहाँ देखाउने भन्दै सुरेशले प्रश्न गरेका छन् । ‘राम्रो फिल्म बनाउँदा पनि ‘मार्केट’ पाउँदैनौं भने हामीले गर्ने चाहिँ के ? सलोन र मैले फिल्मबाहेक केही जानेकै छैन । अनि राम्रो फिल्म बनाउँदा पनि हल दिइन्न भने हामीले कहाँ देखाउने ? हलवालाहरुको मोजा धोएर शो पाइन्छ भने म त्यो गर्न पनि तयार छु । तर, शो चाहिँ दिनुस्,’ यति भन्दाभन्दै सुरेश गहभरि भए ।

‘रंगी’ले अपेक्षाकृत ओपनिङ गर्न नसकेको भए पनि दर्शकीय प्रतिक्रिया राम्रो छ । शुक्रबार र शनिबार केही दर्शक फिल्म हेरेर रुँदै निस्किएका थिए । फिल्मको कथावस्तु र कलाकारहरुको अभिनयलाई दर्शकले बढी रुचाएका छन् । बाबु-छोरीबीचको भावनात्मक सम्बन्धको कथामा बनेको फिल्ममा सलोन बाबुको भूमिकामा छन् । उनको छोरीको भूमिका आयुषी ढकालले निर्वाह गरेकी छन् ।

Most Visited News (monthly)