पछिल्लो समय सामाजिक कथामा फिल्म निर्माणको बाढी आएको छ । र, त्यस्ता कथा रुचाइएका पनि छन् । यसैले अन्य कथामा फिल्म बन्न कम भएको देखिन्छ । झन् लभस्टोरीको त खडेरी नै छ । अब धेरैपछि एउटा पूर्ण लभस्टोरी फिल्म प्रदर्शनमा आउँदैछ । त्यो हो, ‘मायावी’ । नामले नै फिल्म प्रेमकथामा बनेको प्रष्ट हुन्छ । यो फिल्म यही फागुन १४ गते (शिवरात्रि)देखि प्रदर्शन हुँदैछ ।
फिल्मको चार दिनअघि ट्रेलर सार्वजनिक गरिएको थियो । प्रेम र वियोग मिश्रित ट्रेलरलाई युट्युब जस्ता प्लेटफर्ममा रुचाइएको छ । युट्युबमा ११ लाख बढी भ्यूज पाइसकेको ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । कतिले प्रेमिल र वियोगान्त संवाद रुचाएका छन् भने कतिले पल शाहको अभिनयको प्रशंसा गरेका छन् । ट्रेलरका प्रतिक्रियाहरु हेर्दा फिल्म हेर्न दर्शकहरू अधैर्य रहेको देखिन्छ ।
‘मायावी’को ट्रेलरले युट्युब ट्रेन्डिङमा पनि आफ्नो उपस्थिति जनाइसकेको छ । यतिबेला ट्रेलर ‘फिल्म्स सेक्सन’तर्फ दुई नम्बरमा छ । ट्रेलरमा समावेश संवादहरुमा थुप्रै टिकटक समेत बनेका छन् । ट्रेलरप्रति देखिएको दर्शकको उत्साह अब हलमा कस्तो देखिन्छ, त्यो महत्त्वपूर्ण हुनेछ । यसअघि फिल्मको तीन गीत ‘सितारा जडेको’, ‘टल टल टल्कियो’ र ‘त्यो माया हो’ सार्वजनिक भैसकेको छ ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, नव-नायक समिम खान, राजाराम पौडेल, लक्ष्मी गिरी, रवि डंगोल लगायतको अभिनय रहेको छ । ‘मायावी’मा राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्त निर्मातामा छन् । प्रेम प्राप्ति मात्र होइन, त्याग पनि हो भन्ने कुरालाई फिल्मले मुख्य कथावस्तु बनाएको छ ।