गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘रंगी’ले व्यापारमा सुधारका लागि हलमा संघर्ष गरिरहेको छ । दर्शकीय प्रतिक्रिया राम्रो भए पनि व्यापार बढ्न सकेको छैन । यसैबीच, सोमबार फिल्मको नयाँ गीत ‘उडिदेउ’ सार्वजनिक गरिएको छ । गीतमा अन्जान रानाभाटको पार्श्व गायन तथा संगीत छ भने सौगात सापकोटाको शब्द रचना, सम्रिक बादेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।
गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङ प्रस्तुत छन् । गीतमा सलोनले छोरी आयुषीका लागि गरेको संघर्षलाई देखाइएको छ । गीतका दृश्यले केही हदसम्म फिल्मको कथा पनि प्रष्ट पार्छ ।
सुरेश न्यौपानेको निर्देशनमा तयार भएको फिल्ममा दीलिप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय छ । बाबु-छोरीको भावनात्मक सम्बन्धको कथामा बनेको फिल्मको निर्माताहरुमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम छन् । सुमन गजमेरको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन छ ।