आउटडोर फिल्म स्टुडियो निर्माण गर्न चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसमा नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डिसीले समझदारी पत्रमा हस्ताक्षर गरे । सो अवसरमा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि उपस्थित थिए ।
सम्झौता पत्रमा हस्ताक्षरपछि अध्यक्ष डिसीले धुलिखेलमा बन्ने आउटडोर स्टुडियोले फिल्म निर्माणलाई सहज बनाउने बताए । उनले भने, ‘यो स्टुडियो नेपाली फिल्म उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ । धुलिखेलको प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर फिल्म निर्माणलाई सहज बनाउने परिकल्पना रहेको छ ।’
त्यस्तै, नगरप्रमुख श्रेष्ठले नेपाली फिल्म क्षेत्रको विकास र प्रवर्द्धनका लागि नगरपालिकाले हरतरहले साथ दिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘यो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रूपमा उभ्याउनेमा विश्वस्त छु । यसले पर्यटन प्रवर्द्धनसँगै स्थानीय रोजगारी सिर्जना गर्न महत्वपूर्ण अवसर पनि प्रदान गर्नेछ ।’
नेपालसँगै अन्तर्राष्ट्रिय फिल्म निर्माता तथा निर्देशकहरूलाई समेत आकर्षित गर्ने लक्ष्यसहित परियोजना अगाडि बढाइने बोर्डले जनाएको छ । धुलिखेलमा १३०० रोपनी जग्गामा आउटडोर स्टुडियो बनाउन लागेको बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० र १३ मा भने इनडोर सुटिङ स्टुडियो निर्माण गर्दैछ । जसका लागि केही दिनअघि बोलपत्र (टेन्डर) आह्वान भइसकेको छ ।