अभिनयमा अब्बल कलाकारको रुपमा चिनिएका अंकित खड्काले एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । अब उनको नयाँ फिल्म ‘ताण्डवम्’ यही शुक्रबार अर्थात् फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । एक साताअघि सार्वजनिक ट्रेलरले फिल्ममा उनी नकारात्मक चरित्रमा रहेको प्रष्ट पार्छ । उनको पात्रले आमालाई घृणा गर्ने पनि ट्रेलरमा खुलाइएको छ ।
फिल्ममा अंकितको पात्रको नाम ‘घैंटे’ हो, जसले आमाको माया पाएको छैन । यसैले उसमा आमाप्रतिको सोच फरक छ । आमाको माया नपाएको मान्छे कस्तो हुन्छ र कस्तो व्यवहार गर्छ भन्ने कुरा फिल्मले देखाउने उनको भनाइ छ । फिल्ममा उनले आमा शब्दलाई गाली समेत गरेका छन् । आमालाई गाली गर्न भने उनलाई गाह्रो भएको रहेछ ।
उनी भन्छन्, ‘मलाई ‘घैंटे’को क्यारेक्टर गर्न गाह्रो भएको थियो । सटिङकै बेला मेरो आमा पनि वित्नुभयो । फिल्ममा भने आमालाई गाली गर्नुपर्ने थियो । मलाई त्यो गर्नै मन थिएन । आमा शब्द भनेको पृथ्वी हो, पृथ्वीलाई कसरी गाली गर्ने ? तर, मेरो क्यारेक्टरले आमालाई गाली गर्नैपर्ने भएकाले धेरै गाह्रो भयो ।’ यद्यपि, उनलाई कलाकार भएपछि हरेक क्यारेक्टरमा काम गर्नुपर्छ भन्ने लाग्छ ।
अंकित ‘ताण्डवम्’मा दर्शकले स्मरण गर्ने धेरै चिज रहेको दाबी गर्छन् । भन्छन्, ‘प्रत्येक फिल्ममा केही न केही नयाँ हुन्छ । यो फिल्ममा पनि दर्शकले स्मरण गर्ने धेरै चिजहरु छन् । यो लभस्टोरी, एक्सन, थ्रीलर फिल्म हो । यसमा साथीको कथा छ । मायाप्रेम छ । मध्यम वर्गीय परिवारको कथा पनि छ ।’ ‘ताण्डवम्’ हरेक वर्गका दर्शकलाई मनपर्ने उनको विश्वास छ ।
लामो समयदेखि नेपाली फिल्ममा रंग संयोजन गर्दै आइरहेका जुनिम गहतराजले फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा जुनिम स्वयं मुख्य भूमिकामा छन् । उनको जोडी अभिनेत्री सरिना मगरसँग बाँधिएको छ । यसमा पुष्कर गुरुङ, प्रेम सुब्बा, अनोज पाण्डे, कमल कार्कीलगायतको पनि अभिनय रहेको छ । फिल्मको निर्माताहरुमा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम छन् ।