अभिनेता विनय श्रेष्ठको करिअरको सम्झनलायक फिल्ममध्येको एक मानिन्छ, ‘रेशम फिलिली’ । यसमा उनको चरित्र सशक्त थियो । उनले रेशम पात्रको भूमिकामा अभिनय गरेका थिए । एकपटक फेरि उनी त्यही भूमिकामा देखिँदैछन्, ‘फेरि रेशम फिलिली’मा । मंगलबार सार्वजनिक भएको ट्रेलर हेर्दा ९ वर्षपछि पनि विनयले रेशम पात्रमा आफूलाई जीवन्त रुपमा रुपान्तरण गरेको देखिन्छ ।
उनले रेशम पात्रलाई आफ्नो आत्मा नै मानेका छन् । यसैले त वर्षौंपछि त्यही पात्रमा ढल्न उनलाई कुनै गाह्रो भएन । न त चरित्रका लागि त्यस्तो केही तयारी गरे । मंगलबार ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारको प्रश्नमा विनयले भने, ‘रेशम पात्र मेरो आत्माको पाटो हो । आफ्नो आत्मासँग टाढा भइन्छ र ? यसैले मैले रेशम पात्र अझै छाड्न सकेको छैन । र, त्यही नै स्क्रिनमा देखिएको हो ।’
‘फेरि रेशम फिलिली’ विनयको झन्डै ७ वर्षपछिको कमब्याक फिल्म हो । उनको पछिल्लो फिल्म ‘रोमियो एन्ड मुना’ सन् २०१८ मा रिलिज भएको थियो । त्यसो त उनी अरु कलाकारजस्तै लगातार फिल्म गर्नेमा पर्दैनन् । करिअरले १३ वर्षको अवधि पूरा गरिसक्दा उनले ‘फेरि रेशम फिलिली’सहित जम्मा चारवटा फिल्ममा काम गरेका छन् । र, हरेक फिल्ममा उनले आफ्नो छाप छाडेका छन् ।
ट्रेलर सार्वजनिक कार्यक्रममा विनयलाई ७ वर्षसम्म फिल्म नगर्नुको कारणबारे पनि प्रश्न गरिएको थियो । त्यसबारेमा उनले ठट्यौली शैलीमा भने, ‘म ‘फेरि रेशम फिलिली’ पर्खिएर बसेको थिएँ ।’ उनलाई फेरि सोधियो, ‘त्यसो भए आगामी फिल्म ‘रेशम फिलिली ३’ हुन्छ ?’ उनले आफ्नो प्राथमिकता सधैं ‘रेशम फिलिली’ नै हुने बताए । चरित्र सुहाउँदो भए अरु फिल्म पनि गर्ने उनको भनाइ छ ।
विनयलाई ‘रेशम फिलिली’को कथा आफ्नो छोरालाई पनि हुने गरी अगाडि बढाउन मन रहेछ । उनले कार्यक्रममा हाँस्दै भने, ‘पछि मेरो छोरालाई पनि ‘क्यारी’ हुने गरी ‘रेशम फिलिली’ ल्याउने इच्छा छ । रेशम क्यारेक्टर पाको हुँदै गएपछि त्यो पनि त हुनसक्छ । भविष्यमा जुनियर रेशम र हरिया आउन सक्छ ।’ ‘फेरि रेशम फिलिली’मा विनय कलाकार मात्र नभइ निर्माताको रुपमा पनि छन् ।