भारतको केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणलाई लिएर अभिनेत्री नीता ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको इज्जत जोगाउन आग्रह गरेकी छन् । मंगलबार फेसबुकमा स्टाटस लेख्दै उनले उक्त घटनामा नेपालको बेइज्जत गरिएको र त्यसको जिम्मेवारी कांग्रेस, एमाले र माओवादीले लिनुपर्ने कि नपर्ने भनेर समेत प्रश्न गरेकी छन् ।
उनी लेख्छिन्, ‘भर्खरै भारतको एउटा विद्यालयमा एउटा नेपाली चेलीलाई हामीले गुमाउनु पर्यो, धेरै नेपाली विद्यार्थीहरूलाई त्यहाँबाट कुटपिट गरेर निकालिएको छ । उक्त विश्वविद्यालय व्यवस्थापन समितिकी अध्यक्षले नेपाली विद्यार्थीको न्यायको मागको अपहेलना गर्दै प्रतिकार गर्ने क्रममा विद्यालयको बजेट जति तिमीहरुको देशको राष्ट्रिय बजेट पनि छैन भनेर नेपालको बेइज्जत गरेकी रहिछन् । अन्तर्राष्ट्रिय मञ्चमा कहिलेसम्म यस्तै बेइज्जत हामीले खेपिरहनु पर्ने हो ?’
नीताले नेपालमाथि लगाइएको आरोप यथार्थ रहेको पनि जनाएकी छन् । उनी अगाडि लेख्छिन्, ‘लगभग यो आरोप यथार्थ पनि हो । नेपालको यो हालत कसले बनायो ? केही वर्षदेखि नेपालको शासक तपाईंहरु काङ्ग्रेस, एमाले, माओवादी । अब यो बेइज्जतको जिम्मेवारी तपाईंहरुले लिनुपर्ने कि नपर्ने ? बिन्ती छ, नेपालको इज्जत जोगाइदिनुस् । नेपाली जनताको भावना बुझिदिनुस् ।’
प्रधानमन्त्री ओलीको तस्वीर राख्दै नीताले कुनै बेला केपी शर्मा ओली जस्तै प्रधानमन्त्री हुनुपर्छ भनेर ठाँटले भन्न सक्ने आफू अहिले ‘कन्फ्यूजन’मा रहेको पनि बताएकी छन् । अचेल फोटो खिच्ने र खिचाउनेबाहेक प्रधानमन्त्री ओलीको अरु काम नदेखिएको उनको भनाइ छ । उनले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर मनमा गढेर बसेका धेरै प्रश्नहरु गर्न मन रहेको पनि स्टाटसमा उल्लेख गरेकी छन् ।