मिति : २०८१ फाल्गुन ९, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यूएसएआईडीबाट पैसा लिएर धर्म विरोधी प्रचार गरेको आरोपबारे के भन्छन् मह जोडी ?

फिल्मीखबर, काठमाडौं, 2025/02/20

Hari Bansha Acharya

 

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)बाट पैसा लिएर मह सञ्चारले दुई दशक अगाडि ‘पञ्चायत व्यवस्थाको सराध्य’ नामक कार्यक्रममार्फत हिन्दू धर्म विरोधी प्रचार गरेको आरोप लागेपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले त्यसको खण्डन गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै मह जोडीले आफूहरुविरुद्ध अनर्गल प्रचार गरिएको बताए ।

भिडियोमा मदनकृष्णले भनेका छन्, ‘हिजोआज सामाजिक सञ्जालमा मह जोडीले यूएसएआईडीबाट पैसा लिएर धर्मको विरोध गर्दै हिँड्यो भन्ने जुन किसिमको अनर्गल प्रचार भइरहेको छ, त्यसले हाम्रो एकदमै चित्त दुखेको छ । हामी सबैलाई आफ्नो हितैषी सम्झन्छौं । आफ्नै हितैषीबाट यस्तो कुरा सुन्दा चित्त दुखेको छ ।’

कलाकार श्रेष्ठले आफूहरुले कुनै पनि कार्यक्रममा नचाहिने कुरा नबोलेको दाबी गरेका छन् । ‘संसारमा राम्रो र नराम्रो दुवै कुरा छन् । हामीले राम्रा-राम्रा मात्र छानेर काम गर्दै आइरहेका छौं,’ उनी भन्छन्, ‘कुष्ठरोग, खोपका कुराहरु कुनै अधर्म होइन । हाम्रा हरेक सिरियलहरु पूरा हेरेर जाँच्नु भए हुन्छ । त्यसमा कुनै अर्नगल कुरा छैनन् । नचाहिने कुरा बोलेका छैनौं ।’

त्यस्तै, हरिवंश आचार्यले कुनै पनि टेलिसिरियलबाट हिन्दू धर्म वा अन्य धर्मको विरोध नगरेको बताएका छन् । ‘हामीले ‘मदनबहादुर हरिबहादुर’, ‘असल लोग्ने’, ‘आमा’ र विभिन्न किसिमका खोपका कार्यक्रमहरु गरेका छौं । र, त्यो हामीले युट्युबमा छर्लङ हुने गरी राखेका छौं । त्यो एकपटक हेर्दा हुन्छ । हामीले कहीँ पनि सनातन हिन्दू धर्म र अन्य कुनै पनि धर्मको विरोध गरेका छैनौं । र, अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं । यो अनर्गल हो,’ उनले भनेका छन् ।  

हरिवंशले ‘पञ्चायत व्यवस्थाको सराध्य’ कार्यक्रममा हिन्दू धर्मप्रति नभइ पण्डित पात्रको प्रवृत्तिप्रति व्यंग्य गरेको पनि प्रष्ट पारेका छन् । उनी भन्छन्, ‘पण्डित भन्दैमा भगवान् हुँदैन । म पनि पण्डितकै छोरो हुँ । र, व्यंग्य भनेको नेता, पण्डित, पुलिस, डाक्टर सबैलाई गर्न पाइन्छ । त्यही अन्तर्गत ‘पञ्चायत व्यवस्थाको सराध्य’ कार्यक्रमको टुक्रा राखेर हिन्दू धर्मको विरोध गर्‍यो भन्ने कपोकल्पित कुरा मात्र हो ।’

कामको कुरा गर्दा, मदनकृष्ण र हरिवंश दुवैले अहिले अलग-अलग फिल्म गरिरहेका छन् । हरिवंश फिल्म ‘हरिबहादुरको जुत्ता’को छायांकनमा व्यस्त छन् भने मदनकृष्णले फिल्म ‘पहाड’मा काम गरिरहेका छन् । यसपछि उनले अर्को फिल्म ‘परान’ गर्नेछन् । मदनकृष्ण र हरिवंशको मित्रतालाई उदाहरणको रुपमा लिने गरिन्छ । उनीहरुको मित्रता चार दशकभन्दा लामो समयदेखिको हो ।

 

Most Visited News (monthly)