अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सरमा रोकिएको फिल्म ‘ताण्डवम्’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट प्रदर्शन अनुमति पाएको छ । १० मिनेटको हिंसात्मक दृश्य काटेर निर्माताले बिहीबार पुनः फिल्मको सेन्सर गराएपछि बोर्डले पिजी सर्टिफिकेट दिँदै रिलिजका लागि बाटो खुला गरिदिएको हो । अब यो फिल्म १६ वर्षमुनिकाले अभिभावकको साथमा हेर्नुपर्नेछ ।
फिल्मका निर्देशक तथा अभिनेता जुनिम गहतराजले कथाको मर्म नमर्ने गरि हिंसात्मक दृश्य काटिएको बताए । पहिलो पटक सेन्सर गर्न लैजाँदा २ घण्टा ६ मिनेट रनटाइम रहेको फिल्म अब १ घण्टा ५६ मिनेटमा सीमित भएको छ । पूरा फिल्मबाट करिब १० मिनेट रनटाइम घटाइएको निर्देशक गहतराजले जानकारी दिए ।
‘लामो दृश्य काटिए पनि हामीले कथाको मर्म मर्न दिएका छैनौं,’ जुनिमले भने, ‘हामीले इमानदारपूर्वक राम्रो फिल्म पस्किने प्रयास गरेका छौं । दर्शकले मन पराउनेमा विश्वस्त छौं ।’ फिल्मलाई सेन्सर पदाधिकारीले पनि रुचाएको उनले बताए । लामो समयदेखि कलरिस्टको रुपमा काम गर्दै आइरहेको उनको यो डेब्यु निर्देशकीय फिल्म हो ।
भोलि शुक्रबार अर्थात् फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा जुनिमसहित पुष्कर गुरुङ, प्रेम सुब्बा, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाल लगायतको अभिनय रहेको छ । फिल्मको कथा एक नवविवाहित जोडी पहिलो सन्तानको स्वागतको तयारीमा रहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावमा केन्द्रित छ ।