मिति : २०८१ फाल्गुन १०, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘होस्टेल ३’ ट्रेलरको रेकर्ड : विश्वका १३ देशमा ट्रेन्डिङ

फिल्मीखबर, काठमाडौं, 2025/02/22

hostel 3

 

यही फागुन २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको कलेज ड्रामा फिल्म ‘होस्टेल ३’को शुक्रबार सार्वजनिक ट्रेलरले रेकर्ड बनाएको छ । नेपालसहित विश्वका विभिन्न १३ देशहरूमा फिल्मको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । सम्भवतः यति धेरै देशमा नेपाली फिल्मको ट्रेलर ट्रेन्डिङमा परेको पहिलो पटक हो । नेपाल र कुवेतमा ट्रेलर ट्रेन्डिङको पहिलो स्थानमा समेत छ ।

विशेषगरी खाडी मुलुकहरु, युरोपियन देशहरु, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा ट्रेलरप्रति दर्शकको आकर्षण देखिएको छ । कतारमा दोस्रो, पोर्चुगलमा तेस्रो, साउदी अरेबियामा चौथो, रोमानिया र यूएइमा पाँचौँ स्थानमा रहेको ट्रेलर अस्ट्रेलिया र जापानमा सातौँ, माल्टामा पनि सातौँ, मलेसियामा एघारौँ, दक्षिण कोरियामा चौधौँ र बेलायतमा अट्ठाइसौँ स्थानमा छ ।

ट्रेलरले युट्युबमा भ्यूज र प्रतिक्रिया पनि लोभलाग्दो पाएको छ । २० घण्टामा ट्रेलरलाई ९ लाख ९० हजार बढी भ्यूज मिलिसकेको छ भने तीन हजारभन्दा बढी प्रतिक्रिया आएका छन् । अधिकांश प्रतिक्रियामा तारिफ मात्र देखिन्छ । कतिले फिल्म सुपरहिट हुने दाबी गरेका छन् भने कतिले ‘फिल्म क्षेत्रले नयाँ स्टार पाउँदैछ’ भनेर प्रतिक्रिया जनाएका छन् ।

ट्रेलरले कलेज र होस्टेल जीवनको रमाइलो पक्ष देखाउँदै प्रेम, द्वन्द्व, त्याग, सङ्घर्ष र षड्यन्त्रको कथा पेस गरेको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी र समा पराजुली देखिएका छन् । त्यस्तै, प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् ।

सशान कँडेलको निर्देशनमा बनेको फिल्ममा आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान लगायतको पनि अभिनय छ । यसमा निर्देशक कँडेलको कथा र माधव शर्माको पटकथा तथा संवाद छ । फिल्ममा निर्माताहरु सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी, सह-निर्माताहरु शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर तथा कार्यकारी निर्माता शङ्कर कोइराला रहेका छन् ।

 

Most Visited News (monthly)