मिति : २०८१ फाल्गुन १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तुलसी घिमिरे विरामी भएपछि रोकिएको ‘पहाड’को छायांकन पुनः सुरु

फिल्मीखबर, काठमाडौं, 2025/02/23

Tulsi Ghimire 3

 

निर्देशक तुलसी घिमिरेलाई निमोनिया भएपछि मुहूर्तको दिन केही दृश्य खिचेपछि रोकिएको फिल्म ‘पहाड’को छायांकन पुनः सुरु भएको छ । निर्देशक घिमिरेले आफ्नो स्वास्थ्य अनुकूल भएपछि शुक्रबारदेखि पूर्वनिर्धारित तालिका अनुसार गोरखामा छायांकन भइरहेको जानकारी दिए । उनी विरामी भएपछि छायांकनका लागि गोरखा पुगेको फिल्मको टिम काठमाडौं फर्किएको थियो ।

‘पहाड’बाट निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमीलाई अभिनेत्रीको रुपमा डेब्यु गराएका छन् । यसमा पञ्चमीको जोडी अभिनेता अरुण क्षेत्रीसँग बाँधिएको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनिल थापा, रेनुनाथ योगी, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतले पनि अभिनय गरिरहेका छन् । यसमा विपिनको जोडी बनेर रेनुनाथ देखिँदैछिन् ।

युवा जनशक्ति विदेश पलायन हुँदा रितिँदै गएको पहाडी भूगोल र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई फिल्मले कथावस्तु बनाएको निर्देशक घिमिरेले बताए । अहिलेको समाजको तीतो यथार्थलाई फिल्ममार्फत दर्शकसमक्ष पुर्‍याउन लागिएको उनको भनाइ छ । उनले भने, ‘फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ ।’

ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन् । भारतमा फिल्म, वेब सिरिज तथा टेलिफिल्म छायांकन गरिसकेका छायाँकार प्रधानले यसअघि निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’मा सहकार्य गरेका थिए । उनी तीस वर्षपछि नेपाली फिल्म छायांकन गर्न नेपाल आएका हुन् ।

गोर्खा आसपासमा २५ दिन र भारतमा १५ दिन छायांकन हुने फिल्ममा रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह-निर्मातामा छन् । भाग्यरत्न फिल्म्सको व्यानरमा निर्माण भइरहेको फिल्मको गीतमा रञ्जित गजमेरले सङ्गीत दिएका छन् । क्रिएटिभ निर्देशकमा भारती घिमिरे छिन् । निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले फिल्ममा प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

Most Visited News (monthly)