मिति : २०८१ फाल्गुन १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फेरि रेशम फिलिली’मा मेरो पात्र बोल्ड छ : सुपुष्पा

फिल्मीखबर, काठमाडौं, 2025/02/24

Supuspa-Bhatta (3)

 

डेब्यु फिल्म ‘रणवीर’ होस् वा ‘चपली हाइट ३’ र ‘छ माया छपक्कै’, तीनवटैमा सुपुष्पा भट्ट सह-अभिनेत्री थिइन् । अब पहिलो पटक उनी मुख्य अभिनेत्री भएर ‘फेरि रेशम फिलिली’मा देखिँदैछिन् । यो उनको होम प्रोडक्सनको फिल्म हो । उनका श्रीमान् रौनक विक्रम कँडेल फिल्मका निर्माता हुन् । तर, श्रीमानका कारण उनले यो फिल्म पाएकी होइनन् । उनले अडिसन नै दिएकी थिइन् ।

अडिसनबाट छनोट भएर फिल्ममा अनुबन्ध भएपछि सुपुष्पाको खुसीको ठेगान थिएन । उनी सम्झन्छिन्, ‘त्योबेला म सबैभन्दा माथि पुगेजस्तो महसुस भएको थियो । एकदमै खुसी लागेको थियो । प्रोडक्सन हाउस राम्रो, निर्देशक मिहिनेती, स्क्रिप्ट राम्रो र बलियो छ भन्ने थाहा भएकाले फिल्ममा काम गर्न पाएँ भनेर खुसी भएकी थिएँ ।’

‘फेरि रेशम फिलिली’ ९ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’को सिक्वेल हो । अघिल्लो श्रृंखलामा मेनुका प्रधान मुख्य अभिनेत्री थिइन् । सुपुष्पाको बुझाइमा मेनुकाले गरेको पात्रभन्दा आफ्नो फरक छ । उनी भन्छिन्, ‘दुवै पात्र एकअर्कासँग विल्कुलै फरक छन् । मेरो पात्र बोल्ड छ, जो आफूले चाहेको कुरा मात्र सोच्छ र आफूलाई ‘मैं हुँ’ ठान्छ ।’

सुपुष्पा आफ्नो चरित्रलाई न्याय गर्न कुनै कसर नछाडेको बताउँछिन् । तर, उनलाई पात्रका लागि चाहिने जति तयारी अझै नपुगेको हो कि भन्ने महसुस हुन्छ । एउटै समयमा अर्को फिल्म ‘पिताम्बर’लाई पनि समय दिँदा उनले पात्रका लागि पर्याप्त मिहिनेत गर्न पाएकी थिइनन् । उनी भन्छिन्, ‘अहिले सोच्दा आफ्नो पात्रका लागि अझ मिहिनेत गर्न सक्थेँ जस्तो लाग्छ ।’

हरेकपटक फिल्म अफर हुँदा सुपुष्पा स्क्रिप्ट राम्रो होस् भन्ने चाहन्छिन् । उनका लागि ‘फेरि रेशम फिलिली’ सोचेको जस्तै भइदियो । उनी फिल्मको स्क्रिप्ट र आफ्नो भूमिका एकदमै राम्रो रहेको दाबी गर्छिन् । ‘मलाई फिल्मको कुरा आउँदा स्क्रिप्ट राम्रो होस् भन्ने सधैँ लाग्छ । यो फिल्ममा स्क्रिप्टसँगै मेरो भूमिका पनि राम्रो छ,’ उनले खुसी व्यक्त गरिन् ।

यही बुधबार (महाशिवरात्रि)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा सुपुष्पाको जोडी अभिनेता विनय श्रेष्ठसँग बाँधिएको छ । यसमा उनीहरुसहित कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, एवनराज उप्रेती, महेश त्रिपाठी, मेक्सम गौडेल लगायतको अभिनय छ । अमेरिका जान एक पात्रले गरेको संघर्षको कथामा फिल्म आधारित छ ।

Most Visited News (monthly)