चर्चित टेलिसिरियल ‘सक्किगोनि’ समूहको पहिलो फिल्म ‘लाज शरणम्’बाट नवीन श्रेष्ठ निर्माणमा होमिएका छन् । उनको लगानीमा बनेको यो पहिलो फिल्म हो । लामो समयदेखि रियलस्टेट (घरजग्गा कारोबार) तथा रेस्टुरेन्ट व्यवसायमा सक्रिय रहेका उनी फिल्म निर्माणका लागि कुनै सम्झौता नगरेको दाबी गर्छन् । बजेट, लोकेसन र समयमा सम्झौता नगरी फिल्म बनाएको उनको भनाइ छ ।
‘लाज शरणम्’को टिम र मेहनत देखेर फिल्ममा लगानी गरेको निर्माता श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘मैले यो टिम एकदमै मेहनती देखेँ । यसैले फिल्ममा लगानी गरेको हुँ । अब यो क्षेत्रमा प्रवेश गरेपछि म पछि हट्दिनँ, फिल्म बनाइरहने सोच छ ।’ रियलस्टेटको व्यापार केही सुस्ताएको बेला फिल्ममा आए पनि यसलाई निरन्तरता दिने उनको भनाइ छ ।
उनी फिल्म निर्माणमा आउनुको एउटा अर्को कारण पनि छ । त्यो हो, उनी फिल्मबाट विदेशी डलर भित्र्याउन चाहन्छन् । भन्छन्, ‘विदेशबाट पैसा ल्याउने माध्यम फिल्म पनि एक हो । विदेशी फिल्मले जसरी नेपालबाट पैसा लैजान्छन्, त्यसैगरी हामीले पनि विदेशबाट डलर भित्र्याउनुपर्छ । यसका लागि राम्रो फिल्म बनाउनुपर्छ । यसतर्फ हामीले आ-आफ्नो ठाउँबाट सोच्नुपर्छ ।’
यही बुधबार (महाशिवरात्रि)बाट प्रदर्शनमा आउन लागेको ‘लाज शरणम्’लाई उच्च अदालत पाटनले सेन्सर नहुँदासम्म प्रचार-प्रसार नगर्न आदेश दिएपछि रिलिज अन्योल बनेको थियो । आइतबार सेन्सर बोर्डबाट फिल्म पास भएपछि रिलिजका लागि बाटो खुलेको छ । कुमार कट्टेल निर्देशित फिल्ममा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल लगायतको अभिनय रहेको छ ।