मिति : २०८१ फाल्गुन १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मायावी’ प्रिमियरमा राजेश हमालले भने- ‘फिल्मले बजार तताउँछ’

फिल्मीखबर, काठमाडौं, 2025/02/25

rajesh hamaal

 

अभिनेता राजेश हमाल फिल्मको प्रिमियरमा विरलै देखिन्छन् । धेरैपछि उनी सोमबार फिल्म ‘मायावी’को प्रिमियरमा उपस्थित भए । यसका निर्देशक दीवाकर भट्टराईको नयाँ फिल्म ‘नरसिंहा : अवतार’मा काम गरेकाले पनि उनी प्रिमियरमा सहभागी भएका थिए । र, उनी नै प्रिमियरको प्रमुख आकर्षणको पात्र रहे । उनले फिल्म हेरेपछि दिएको प्रतिक्रियाले निर्माण पक्ष उत्साहित बनेको छ ।

अभिनेता हमालले ‘मायावी’ले बजार तताउने दाबी गरेका छन् । उनले भने, ‘यो फिल्ममा हरेक कुरा छ । कथावस्तुले मन छुन्छ । गीतसंगीतको प्रयोग निकै उत्कृष्ट तरिकाले गरिएको छ । ब्याकग्राउन्ड म्यूजिक पनि सशक्त छ । कलाकारहरुले निकै राम्रो काम गरेका छन् । यसैले ‘मायावी’ले बजार तताउने कुरामा विश्वस्त छु ।’

हमालले अहिलेसम्म आफूले हेरेका लभस्टोरीमा ‘मायावी’ बेग्लै रहेको समेत बताए । ‘मैले अहिलेसम्म जति पनि लभस्टोरी फिल्म हेरेको छु, त्यसमध्येमा ‘मायावी’ बेग्लै लाग्यो । यो कसरी सकिन्छ भन्ने पनि थाहा पाउन सकिँदैन । मान्छेको मन नै त हो नि, जता पनि जान सक्छ भन्ने देखाएको छ । यो लभस्टोरी फिल्म विशेष छ,’ उनले भने ।

प्रिमियरमा निर्देशकहरु ज्ञानेन्द्र देउजा, नवल नेपाल, अभिनेता राज कटुवाल, पूर्वमिस नेपाल उषा खड्गी, गायक तथा अभिनेता रामकृष्ण ढकाल, अभिनेत्री सनिशा भट्टराई, मोडल उषा उप्रेती लगायत पनि उपस्थित थिए । उनीहरुले फिल्मको कथावस्तु, प्रस्तुतिकरण र कलाकारहरुको अभिनयको प्रशंसा गरे । मनछुने लभस्टोरी फिल्म बनेको प्रायःको प्रतिक्रिया थियो ।

 

rajesh hamaal


प्रिमियरमा फिल्मका निर्देशक दीवाकर भट्टराई, कलाकारहरु दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, सुशील सिटौला, राजाराम पौडेल, नव–नायक समीम खान लगायत उपस्थित थिए । दीपिका बेहुलीझैँ सिङ्गारिएर पुगेकी थिइन् । अभिनेता पल शाह भने अर्को एक फिल्मको छायांकनका लागि रोल्पामा रहेकाले प्रिमियरमा उपस्थित हुन सकेनन् ।

‘मायावी’मा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह-निर्मातामा छन् । फिल्मको गीतमा शम्भुजित बाँस्कोटा र एसडी योगीले संगीत दिएका छन् भने कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी तथा मिलन श्रेष्ठको सम्पादन छ ।

Most Visited News (monthly)