अशोक शर्माले ६ वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गर्ने भएका छन् । उनले फिल्म ‘डबल ट्रिपल’ निर्देशन गर्न लागेका हुन् । बुधबार महाशिवरात्रिको अवसर पारेर एक पोस्टरमार्फत उनले शीर्षक र कलाकारबारे जानकारी गराए । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी, मिरुना मगर, विल्सन विक्रम राई, उदय सुब्बा, राजाराम पौडेल लगायतको अभिनय रहनेछ ।
अशोक शर्मा र राजेश सिटौलाको कथा तथा पटकथा लेखन रहेको फिल्मको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भर्नेछन् भने आलोक शुक्लाको छायांकन रहनेछ । मनोज पण्डित स्क्रिप्ट डक्टर रहेको फिल्मको संवाद शान बस्न्यातले लेखेका हुन् । यसमा राजु किराँतीको द्वन्द्व निर्देशन तथा सुनिल क्षेत्रीको कोरियोग्राफी रहनेछ ।
‘डबल ट्रिपल’को घोषणा गर्दै निर्देशक शर्माले फेसबुकमा लेखेका छन्, ‘हामी आउँदैछौँ तपाईंको मज्जा ‘डबल’ होइन ‘ट्रिपल’ गर्न ।’ उनले उत्कृष्ट फिल्म बनाउने दाबी गरेका छन् । किरण शर्मा पौडेल, अंकित शर्मा र कीर्ति शर्मा निर्माता रहेको फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । आगामी वर्षको दशैंको फूलपातीमा फिल्म प्रदर्शन हुने पोस्टरमा उल्लेख छ ।
‘डबल ट्रिपल’ थपिएसँगै आगामी फूलपातीमा प्रदर्शन हुने फिल्मको संख्या आधा दर्जन नाघेको छ । ‘बलिदान’, ‘माइतीघर’, ‘दशमी’, ‘महाराजधिराज’ र ‘हरिबहादुरको जुत्ता’ पनि फूलपातीमा आउने तयारीमा छन् । र, ‘जारी २’ पनि फूलपातीमै रिलिज हुने सम्भावना प्रवल छ । दशैंमा लामो विदा हुने भएकाले वर्षेनि फूलपातीमा फिल्म रिलिज गर्न निर्माताहरुबीच ठूलै रस्साकस्सी हुने गरेको छ ।