मिति : २०८१ फाल्गुन १६, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘होस्टेल ३’मा कसरी जोडिए ‘मेरी बास्सै’का ‘धुन्धुकारी’ ?

फिल्मीखबर, काठमाडौं, 2025/02/28

Ashish Ghimire

 

सफल फ्रेन्चाइज फिल्म ‘होस्टेल’लाई कलाकार जन्माउने कारखानाको रुपमा लिने गरिन्छ । यसको दुई श्रृंखलाबाट उदाएका केही कलाकार नेपाली फिल्मका ठूला ‘स्टार’ समेत बनेका छन् । त्यसमध्येका दुई नाम हुन्, अनमोल केसी र स्वस्तिमा खड्का । सुशील श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी, प्रकृति श्रेष्ठ, नाजिर हुसेन, शशी श्रेष्ठ जस्ता कलाकारहरु पनि ‘होस्टेल’ श्रृंखलाबाटै उदाएका हुन् ।

अब ‘होस्टेल’को तेस्रो श्रृंखला यही फाल्गुन २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । अघिल्ला दुई श्रृंखलाझैँ तेस्रो श्रृंखलाबाट पनि थुप्रै नयाँ कलाकारको उदय हुँदैछ । त्यसमध्येका एक हुन्, आशिष घिमिरे ‘धुन्धुकारी’ । उनी ‘स्टार किड्स’ हुन् । लोकप्रिय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ उनका बुबा हुन् । यसैले पनि ‘होस्टेल ३’का अन्य कलाकारभन्दा उनीप्रति दर्शकमा बढी नै चासो देखिएको छ ।

‘होस्टेल ३’ आशिषले मुख्य भूमिकामा काम गरेको पहिलो फिल्म भएपनि अभिनयमा उनको पाको अनुभव छ । उमेरले डेढ वर्षको हुँदा उनले ‘गीताञ्जली’ सिरियलबाट अभिनय यात्रा सुरु गरेका थिए । त्यसपछि टेलिसिरियल ‘मेरी बास्सै’मा ‘धुन्धुकारी’को भूमिकामा लगातार पाँच वर्षसम्म अभिनय गरे । बाल कलाकार भएरै उनले ‘सिग्नेचर’ फिल्म र ‘जुरेली’ नामक टेलिसिरियलमा पनि काम गरे ।

उमेर र कक्षा पढ्दै गएपछि अध्ययनलाई प्राथमिकता दिन केही समय अभिनयबाट विश्राम लिएका उनले १२ कक्षापछि ‘आइटी’मा ब्याचलर सकाए । यो अवधिमा केही सिरिज र म्यूजिक भिडियोमा सहायक निर्देशन र लेखन समूहमा काम गरेका उनी त्यसपछि सुनिल पोखरेलसँग अभिनय सिक्न ‘गुरुकुल नाटक घर’ प्रवेश गरे । त्यहाँ उनले केही नाटकमा आफ्नो अभिनय कला पनि देखाए ।

‘होस्टेल ३’मा भने उनी अडिसनबाट छनोट भएका हुन् । निर्माण टिमले ‘शिव’ नामक भूमिकाको लागि अडिसन गरिरहेको समयमा उनलाई प्रस्ताव राखेको थियो । स्क्रिप्ट मन परेपछि उनलाई उक्त भूमिका गर्न रुचि बढ्यो । र, धेरै अडिसनपछि उनी छनोट भए । अबको ठीक एक सातामा दर्शकले उनको अभिनयको मूल्यांकन गर्नेछन् । यसैले यतिबेला आशिषमा डर र उत्साह दुवै देखिन्छ ।

सशान कँडेलको निर्देशनमा तयार भएको फिल्ममा आशिषसहित पारस बम ठकुरी (कूलब्वाय), पदम तामाङ, रिहान गिरी, सिम्रन पन्त, सन्तोष बानियाँ, हेना नगरकोटी, समा पराजुली, उमर खान, रोहन श्रेष्ठ लगायतको अभिनय छ । उनीहरू सबैको यो पहिलो फिल्म हो । ‘जेन-जी’ पुस्ताले फिल्ममा आफ्नो उपस्थिति खोजिरहेको समयमा ‘होस्टेल ३’ रोजाइमा पर्न सक्ने अपेक्षा गरिएको छ ।

Most Visited News (monthly)