‘प्रेमगीत’ फेम्ड निर्माता सन्तोष सेनको निर्देशनमा बनेको फिल्म ‘बलिदान’को अन्ततः प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार दुईवटा पोस्टर सार्वजनिक गर्दै २०८२ सालको फूलपाती अर्थात् असोज १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि नै फूलपातीलाई ‘डबल ट्रिपल’, ‘दशमी’, ‘हरिबहादुरको जुत्ता’, ‘महाराजधिराज’ र ‘माइतीघर’ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् ।
‘बलिदान’को सार्वजनिक दुई पोस्टरमा मुख्य अभिनेता समीर भट्ट चित्रित छन् । एक पोस्टरमा पृष्ठभूमिमा कालिमातालाई राखिएको छ भने समीरले हातमा त्रिशूलसहितको ठूलो हतियार देखिन्छ । उनको शरीर रगतले पोतिएको छ । निर्देशक सेनका अनुसार यो दृश्य समीरले दानव प्रवृत्तिका मानिसहरूको बलि चढाएपछिको हो ।
दोस्रो पोस्टरमा समीर भुइँमा यत्रतत्र छरिएका लासहरुको बीचमा छन्, जहाँ उनले एक व्यक्तिको खुट्टा समाएर लतारिरहेका छन् । उनको अनुहारमा रिसको आवेग छ । यो पोस्टरले समीर नरसंहारमा रहेको सङ्केत गर्छ । सार्वजनिक दुईवटा पोस्टर हेर्दा फिल्ममा हिंसाका दृश्य भरपूर रहेको देखिन्छ । ‘बलिदान’को केही दिनअघि मात्र चार महिना लगाएर छायांकन सकिएको हो ।
फिल्ममा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको छ । क्लाइमेक्स दृश्यका लागि मोरङको बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको मूर्ति निर्माण गरिएको थियो । फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् । प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् ।
‘प्रेमगीत’ निर्माण कम्पनी आसुसेन फिल्म्स्को प्रस्तुति रहेको फिल्ममा समीरसहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, सन्तोष सेन लगायतको अभिनय छ । फिल्मको संगीत आर्टमान्डु टिमको सहकार्यमा तयार पारिएको छ । गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानसहितको समूहले गीत, ब्याकग्राउन्ड म्युजिक तथा अन्य सांगीतिक पक्षमा काम गरिरहेको छ ।