नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवम् गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित भएर निर्माण भएको फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा फुटबल खेलाडी बन्न एन्जिलाले गरेको संघर्षदेखि गाउँबाट काठमाडौं आएपछि फुटबल टोलीको कप्तान हुँदासम्मको कथा समेटिएको छ ।
फिल्ममा एन्जिलाले नै आफ्नो भूमिकामा अभिनय गरेकी छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा उनले आफूले जीवनमा बिर्सन नहुने नामहरुमा निर्देशक मिलन चाम्स थपिएको बताइन् । उनले दयाहाङ राई जस्तो कलाकारसँग काम गर्न पाएकोमा पनि खुसी व्यक्त गरिन् । ‘अञ्जिला’बाट अन्य खेलाडीको कथामा पनि फिल्म बन्नका लागि बाटो खुलेको उनको भनाइ छ ।
कार्यक्रममा अभिनेता दयाहाङ राईले आफू हरेक नेपाली खेलको प्रशंसक र दर्शक रहेको बताउँदै महिला फुटबल टोलीको ठूलो फ्यान रहेको बताए । ‘कप्तानको फिल्म बन्दैछ भनेपछि भूमिका के हो समेत थाहा नपाई काम गर्न सहमत भएँ । यसको लागि म जिन्दगीभर ऋणी हुनेछु,’ राईले भने । यसमा उनी एन्जिलाको बुबाको भूमिकामा छन् ।
त्यस्तै, निर्देशक मिलन चाम्सले फिल्ममा अन्य राष्ट्रिय खेलाडीहरुको पनि अभिनय रहेको जानकारी दिए । उनले गैर कलाकारलाई अभिनय गराउनु अत्यन्त कठिन रहेको अनुभव सुनाउँदै दयाहाङ राईलाई दुई वर्ष पर्खेर अभिनय गराएको बताए । एञ्जिलाको संघर्ष र सफलताको कथाले धेरैलाई प्रेरणा दिने उनको विश्वास छ ।
यही फागुन २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ लगायतको पनि अभिनय छ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् भने सह-निर्माताको रुपमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यो फिल्मबाट हुने आम्दानीले कप्तान एन्जिलाका लागि काठमाडौंमा घर बनाइदिने निर्माता श्रेष्ठले घोषणा गरिसकेका छन् ।