अभिनेता सुशील श्रेष्ठको ५ वर्षपछिको कमब्याक फिल्म ‘आउट ल : दफा २१९’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट लामो ट्रेलर प्रहरीले ‘मोस्ट वान्टेड क्रिमिनल’ घोषणा गरेको पृथ्वीजंग थापा नामक पात्रको वरिपरि घुमेको छ । त्यो पात्रको भूमिकामा सुशील छन् । उनको खोजीमा प्रहरीले चालेको अप्रेसन र उनले न्यायका लागि बदला लिन गरेको लडाइँलाई ट्रेलरले देखाउँछ ।
ट्रेलरमा सुशीलको अनुहार झन्डै डेढ मिनेटपछि मात्र देख्न सकिन्छ । त्यसपछि उनको एक्सनलाई बढी प्राथमिकता दिइएको छ । फिल्ममा एक्सनलाई फरक शैलीमा प्रस्तुत गरिएको ट्रेलरले जनाउँछ । ब्याकग्राउन्ड म्युजिक सशक्त रहेको ट्रेलरमा मेकिङ पनि स्तरीय देखिन्छ । फिल्मप्रति दर्शकमा उत्सुकता बढाउन सक्ने सामर्थ्य ट्रेलरमा छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, विशाल पहारी, महेश त्रिपाठी, सुमन भण्डारी, हेम महर्जन लगायतको अभिनय छ । अमित अग्रहरि र निशा गुइडेको लगानी रहेको फिल्ममा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन र चुल्ठे काजीको द्वन्द्व निर्देशन छ ।
होलीको अवसर पारेर यही फागुन २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘आउट ल’ सुशीलको करिअरका लागि निकै महत्त्वपूर्ण मानिएको छ । अघिल्ला केही फिल्मको असफलताले संकटमा रहेका उनलाई यो फिल्म सफल हुनैपर्ने दबाब छ । पहिलो पटक पूर्ण एक्सन भूमिकामा देखिन लागेका उनलाई निर्माण टिमले पोस्टरदेखि टिजर-ट्रेलरसम्म ‘एक्सन स्टार’ भनेर उल्लेख गरेको छ ।