चर्चित गायक तथा अभिनेता प्रकाश सपूतको पहिलो निर्देशकीय फिल्म ‘वसन्त’को दोस्रो गीतको रुपमा ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । झाँक्री भाकामा तयार पारिएको गीतमा देवेन्द्र बब्लु (दि फिरन्ते)को गायन तथा परिकल्पना रहेको छ भने शब्द रचना तथा संगीत देवेन्द्र र निर्देशक सपूतको हो । संगीत संयोजन योगेश काजी शाहको छ । यो गीतलाई ‘हरर रोमान्टिक’ भनिएको छ ।
गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता प्रभात पाल ठकुरी र अभिनेत्री श्री शिभान्सीसहित गायक देवेन्द्र बब्लु, मुख्य सहायक निर्देशक सुनिल विक र कलाकार विशाल पहारी प्रस्तुत छन् । शिभान्सीको प्रेममा डुबेका प्रभातलाई मोहनी लागेको आशंकामा उनको परिवारले घरमा झाँक्री बसालेको परिवेशमा भिडियो तयार पारिएको छ ।
निर्देशक सपूतले ‘बिना स्वादैको’ गीतले फिल्मको कथामा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले फेसबुकमा गीत सेअर गर्दै लेखेका छन्, ‘यो एउटा झाँक्री भाकालाई हामीले आधुनिक भाषामा हरर रोमान्टिक भनेर प्रस्तुत गरेका छौं । यो गीत र पात्रहरुले ‘वसन्त’को कथामा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका छन् । एउटा कालखण्डको नेपाली सामाज हेर्न तयार हुनुहोस् ।’
आगामी चैत २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा प्रभात र शिभान्सीसहित प्रकाश सपूत, स्वस्तिमा खड्का, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ । फिल्मको पहिलो गीतको रुपमा एक महिनाअघि सार्वजनिक भएको ‘साँझ पर्यो झमक्क’ दर्शकले निकै रुचाएका छन् ।
फिल्ममा निर्देशक सपूत स्वयंको कथा, पटकथा तथा संगीत छ । विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र आफ्नो लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने जनाइएको छ । मोहन विश्वकर्मा र विन्दू बोहोरा (सपूत) फिल्मका निर्माता हुन् । कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ रहेका छन् । फिल्मका छायाँकार सुसन प्रजापति हुन् ।