मिति : २०८१ फाल्गुन १९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मायावी’ अपेक्षित नचलेपछि दीवाकर भन्छन्, ‘अब लभस्टोरी फिल्म बनाउँदिनँ’

फिल्मीखबर, काठमाडौं, 2025/03/02

Diwakars Bhattarai

 

शिवरात्रिको अवसर पारेर गत बुधबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मायावी’ घरेलु बक्स अफिसमा अपेक्षित रुपमा चल्न सकेको छैन । शनिबारसहित तीन दिनको विदामा एकाध शोहरु हाउसफुल भए पनि धेरै शो दर्शक अभावले रद्द हुन पुगे । आइतबारबाट फिल्मको अकुपेन्सी झनै दयनीय बनेको देखिन्छ । फिल्मले दर्शकको अपेक्षित साथ नपाएपछि निर्माण टिममा निराशा छाएको छ ।

शनिबार विभिन्न हलमा दर्शक प्रतिक्रिया बुझ्न पुगेका फिल्मका निर्देशक दीवाकर भट्टराईले अब लभस्टोरी फिल्म नबनाउने बताए । उनले भने, ‘पछिल्लो समय लभस्टोरी फिल्म निर्माणमा धेरै कमी आएको छ । म आफैं पनि अब लभस्टोरी फिल्म बनाउने आँट गर्न सक्दिनँ । दर्शकले फिल्ममा ‘रिलेट’ नगर्ने र मिडियाले पनि त्यो जनरालाई प्रोत्साहन नगर्ने हो भने लभस्टोरी फिल्म किन बनाउने ?’

‘मायावी’ अपेक्षित नचल्दा आफू निरुत्साहित बनेको उनको भनाइ छ । उनले सञ्चारकर्मीसँग भने, ‘म निरुत्साहित भएको छु । अब मैले लभस्टोरी फिल्ममा ‘वर्कआउट’ गर्नु हुँदैन भन्ने लागेको छ । यसको न अडियन्स रहेछ, न बुझेको व्यक्तिले त्यो हिसाबले सोच्नु हुँदो रहेछ ।’ केही हदसम्म ‘मायावी’ दर्शकमाझ पुगेको भए पनि आफूले अपेक्षा गरेको वर्ग हलसम्म नआएको उनको गुनासो छ ।

लभस्टोरी हेर्ने दर्शक नै नभएपछि अब यो जनरामा फिल्म बनाउनु बेकार रहेको दीवाकरको तर्क छ । उनी अगाडि भन्छन्, ‘मलाई लभस्टोरी फिल्म बनाउन मनपर्छ । तर, यो जनराको दर्शक नै नभएपछि अब लभस्टोरी फिल्म बनाउनु बेकार हुन्छ । यसैले मलाई के लाग्न थालेको छ भने अब लभस्टोरी जनरामा फिल्म बनाउँदिनँ । अब हँसाऊ कि रुवाऊ भन्ने कुरामै बढी ध्यान दिनुपर्ने भयो ।’  

दीवाकर फिल्मलाई प्राप्त दर्शकीय प्रतिक्रियाबाट भने सन्तुष्ट देखिन्छन् । ‘दर्शकको प्रतिक्रियाबाट म सन्तुष्ट छु । ‘मायावी’ रोमकोम फिल्म हो । यो त्यस्तो मास अडियन्सको जनरा होइन । त्यसमाथि पछिल्लो समय सामाजिक कथामा थुप्रै फिल्म बनिरहेका छन् । त्यो हिसाबले रोमकोम फरक जनरा हो । यद्यपि, जतिले फिल्म हेर्नुभएको छ, समग्रमा एकदमै राम्रो रिभ्यू पाएको छु,’ उनले भने ।

‘मायावी’की मुख्य अभिनेत्री दीपिका प्रसाईं पनि दर्शकको अपेक्षित साथ नपाएकोमा निराश देखिइन् । उनले भनिन्, ‘प्रतिक्रिया धेरै राम्रो मिलेको छ । तर, दर्शकहरु खासै हलमा किन आइरहनुभएको छैन भन्ने कुराले चाहिँ मलाई आश्चर्य बनाएको छ ।’ फिल्मलाई लिएर नकारात्मक समीक्षा आउँदा परिवारसँग फेरि हलमा आउने वाचा गरेका दर्शकहरु समेत हच्किएको दीपिकाको गुनासो छ ।