‘कबड्डी’ जोडी दयाहाङ राई र विजय बराललाई मुख्य भूमिकामा लिएर बन्न लागेको फिल्म ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । आइतबार बिहान काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा मुहूर्त पूजा गरेपछि फिल्मको टिम छायांकनका लागि तराई प्रस्थान गरेको छ । फिल्मको छायांकन चितवन र हेटौंडासहित तराईका विभिन्न जिल्लामा गरिने निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
यसमा दयाहाङ र विजयसँगै पशुपति राई, गौमाया गुरुङ, समृद्धि अर्याल, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मी लगायतको अभिनय रहनेछ । बुझिए अनुसार फिल्ममा दयाहाङको जोडी पशुपति र विजयको जोडीको रुपमा समृद्धि देखिनेछिन् । फिल्मलाई आगामी वर्षको लक्ष्मीपूजा अर्थात् कात्तिक ३ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
सामाजिक कथावस्तुमा बन्न लागेको ‘वरिष्ठ बलराम’ सुरेन्द्रको चौथो निर्देशकीय फिल्म हो । यसअघि उनले ‘आभाष’, ‘बाबरी’ र ‘कृ’ निर्देशन गरेका थिए । आशिस एच तामाङ र श्रीराज कार्की निर्माता रहेको फिल्ममा निर्देशक पौडेलको कथा तथा महेश दवाडीको लेखन छ । निर्देशक पौडेलकै सम्पादन रहने फिल्मलाई मानकृष्ण महर्जनले छायांकन गर्नेछन् ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा प्रदीप लामाको कोरियोग्राफी रहनेछ । फिल्मको निर्माणमा वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्मसले सहकार्य गरेका छन् । ‘वरिष्ठ बलराम’लाई काठमाडौं उपत्यकामा डिजिटल सिनेमा नेपाल (डिसिएन) र मोफसलमा कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्नेछन् ।