चर्चित साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को पहिलो गीत ‘ए ठूली’ सार्वजनिक गरिएको छ । गीतमा झुमा लिम्बु र पवन गिरीको पार्श्व गायन छ भने हर्क साउदको शब्द रचना छ । संगीत निर्माण एवं एरेञ्ज गंगा थापाको हो । मिक्सिङ तथा मास्टरिङ विश्व शाहीको छ । गीतमा समावेश संगीत र शब्दले सयौँ वर्ष पुरानो नेपाली समाजको प्रतिनिधित्व गर्छ ।
गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापा प्रस्तुत छन् । सौगातप्रति गीताञ्जलीको प्रेम र आकर्षणलाई भिडियोमा उतारिएको छ । सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई फिल्मले बोल्नेछ । तत्कालिन समाजको परिवेश सुहाउँदो प्रस्तुति गीतमा चित्रण गरिएको छ ।
फूर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको ‘जार’मा सौगात र गीताञ्जलीसहित अनुपविक्रम शाहीको पनि मुख्य भूमिका छ । गीताञ्जली भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता हुन् । ‘लायर्स डाइस’बाट उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जितेकी थिइन् । नेटफ्लिक्सको चर्चित वेब सिरिज ‘सेक्रेड गेम्स’मा पनि उनले अभिनय गरेकी छिन् ।
आगामी बैशाख २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्ममा सरवानन इलावार्सुको छायांकन तथा अखिलेश राईको सम्पादन छ । यसअघि ‘जार’को कथामा नाटक समेत मञ्चन भैसकेको छ ।