अभिनेता विपिन कार्कीको अद्भूत खुबी के छ भने उनी जुनै चरित्रमा पनि प्राण भर्न सक्छन् । चरित्रको गहिराइमा पुगेर अभिनय गर्नु उनको खासियत नै हो । यसैले त दर्शकले उनका फिल्म हेर्दा उनलाई भन्दा पनि उनले निभाएको चरित्रलाई सम्झन्छन् । तर, एक दशक लामो करिअरमा उनले ‘हिरोइज्म’ देखिने भूमिका गर्न पाएका थिएनन् । नयाँ फिल्म ‘कर्मा’ले त्यो पनि पूरा गरेको छ ।
नयाँ वर्षको अवसर पारेर आगामी चैत २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्ममा विपिन पहिलो पटक पूर्ण एक्सन भूमिकामा प्रस्तुत भएका छन् । दुई साताअघि सार्वजनिक पोस्टरले पनि फिल्ममा उनको भरपूर एक्सन रहेको संकेत गर्छ । एक्सन भूमिकाका लागि सुगठित शरीर बनाएका उनी फिल्ममा फरक गेटअपमा छन् ।
हालै निर्माण टिमले सार्वजनिक गरेको सेट बाहिरको एक तस्वीरमा विपिन हातमा चुरोट लिएर आकर्षक लुक्समा देखिएका छन् । उनको कपाल छोटो छ । कानको माथिल्लो भागबाट रगत बगिरहेको छ । यो तस्वीर द्वन्द्वको दृश्यपछिको देखिन्छ । छायांकनअघि एक्सनको तालिम र लामो समय जिममा ‘वर्कआउट’ गरेका उनी सार्वजनिक तस्वीरमा निकै फिट देखिएका छन् ।
‘कर्मा’लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘अगस्त्य’ निर्देशन गरेका थिए, जुन एक्सनप्रधान थियो । विपिनलाई एक्सन भूमिकामा लिने आँट अरु मेकरले गर्न नसकेको अवस्थामा सौरभले ‘कर्मा’मा उनलाई नै किन रोजे भन्ने कौतुहलता धेरैमा देखिन्छ । उनका अनुसार फिल्मको पात्रमा फिट भएकाले नै विपिनलाई लिइएको हो ।
सौरभ भन्छन्, ‘हामीले विपिनजीलाई कथाअनुसार नै तयार पारेका छौँ । उहाँले पनि कडा मेहनत गर्नुभएको छ, जुन चाँडै टिजरमा देख्न सकिनेछ । उहाँको ‘ट्रान्सफर्मेशन’ले दर्शक सरप्राइज हुनेछन् ।’ कथाले मागेको चरित्र निर्माणमा कलाकारलाई पर्याप्त समय दिएर काम गरिएको उनले बताए । ‘कर्मा’लाई ‘अगस्त्य’भन्दा उत्कृष्ट बनाउने प्रयास गरेको उनको भनाइ छ ।
फिल्ममा विपिनको जोडी बनेर अभिनेत्री उपासना सिंह ठकुरी प्रस्तुत छिन् । उनीहरुको यो पहिलो सहकार्य हो । यसमा अभिनेता मुकुन भुसाल नकारात्मक भूमिकामा छन् । उनी पहिलो पटक यस किसिमको भूमिकामा देखिन लागेका हुन् । दिव्य देवको पनि अभिनय रहेको फिल्मको कथा सौरभ स्वयंको हो । आर्टिस्टिक इन्टरटेनमेन्ट अन्तर्गत वसन्त लम्सालले फिल्म निर्माण गरेका हुन् ।