आगामी फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’को तीनवटा गीतबाहेकको छायांकन पूरा भएको छ । गत माघ २१ गते काभ्रेबाट सुरु भएको छायांकन सोमबार २९ दिनमा सकिएको निर्देशक दीपेन्द्र के. खनालले जानकारी दिए ।
इन्डक्ल्यापमा अभिनेता हरिवंश आचार्यको दृश्य खिचिएको थियो । उनले राम्रो टिम भएकाले सहज रुपमा छायांकन सकिएको बताए । उनका अनुसार गीतहरुको छायांकन बैशाखअघि नै गर्ने तयारी भइरहेको छ । उनी फिल्मका लेखक समेत हुन् । उनका छोरा मोहितबंश आचार्य निर्माताको रुपमा छन् । फिल्मका निर्माता सरोज ओली पनि हुन् ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा हरिवंशसहित प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, मुरलीधर, राजाराम पौडेल, किरण केसी, रोशनी सापकोटा, दिव्य देव, तारा शर्मा लगायतको अभिनय छ । कृष्ण बहादुर थापाले फिल्मलाई छायांकन गरेका हुन् ।
दुई दशकअघिको ‘मदनबहादुर हरिबहादुर’ सिरियलमा हरिवंश आचार्यले निर्वाह गरेको हरिबहादुरको चरित्रबाट फिल्म प्रभावित रहेको जनाइएको छ । हरिबहादुर दर्शकले निकै रुचाएको पात्र हो । हरिवंशले ‘हरिबहादुर’ नाममा उपन्यास समेत लेखेका छन् ।