करिब एक दशक नेपाली फिल्ममा एक्सन हराएजस्तै देखियो । बनेका एकाध एक्सन फिल्म पनि खासै चल्न सकेनन् । जसले गर्दा अब ‘एक्सन युग’ सकिएको विश्लेषण भएको थियो । तर, यसपालि फूलपातीमा प्रदर्शन भएको फिल्म ‘१२ गाउँ’ले मृत्युप्रायः रहेको एक्सन जनरालाई नै पुर्नजीवित गरिदियो । यस फिल्मको अभूतपूर्व सफलतापछि यतिबेला एक्सन फिल्मको लहर सुरु भएको छ ।
अब यही फागुन २९ गते (फागु पूर्णिमा)बाट अर्को एक्सन फिल्म प्रदर्शन हुँदैछ । त्यो हो, ‘आउट ल: दफा २१९’ । सात महिनाअघि सार्वजनिक भएको टिजरले फिल्मलाई एकाएक चर्चामा ल्याएको थियो । एक्सनप्रधान टिजरले दर्शकमा फिल्मप्रति हुटहुटी जगाउन ठूलो भूमिका खेल्यो । तर, गत असोज ३ गतेबाट फिल्म पोस्टपोन्ड हुँदा टिजरले दर्शकमाझ बनाएको ‘हाइप’को कुनै अर्थ नै रहेन ।
नयाँ प्रदर्शन मिति घोषणापछि गत शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गरियो । टिजरझैँ ट्रेलरले पनि दर्शकको ध्यान खिचेको छ । युट्युबमा १२ लाख बढी भ्यूज पाइसकेको ट्रेलरलाई उत्साहजनक प्रतिक्रिया मिलेको छ । दुई हजारभन्दा बढी प्रतिक्रियामा तारिफ मात्र देखिन्छ । कतिले हलिउड फिल्मसँग दाँजेका छन् भने कतिले अभिनेता सुशील श्रेष्ठको लुक्स र एक्सनको तारिफ गरेका छन् ।
ट्रेलरको युट्युब कमेन्टमा एक प्रयोगकर्ता लेख्छन्, ‘जिउ नै सिरिङ्ग भयो । यो हो नि ट्रेलर भनेको । हलिउड, बलिउड, साउथभन्दा कम लागेन ।’ अर्का प्रयोगकर्ताको प्रतिक्रिया छ, ‘पहिलो पटक यति दामी नेपाली फिल्मको ट्रेलर हेरियो ।’ कतिपयले सुशीललाई अभिनेता समीर भट्टसँग पनि दाँजेका छन् । ट्रेलरलाई प्राप्त प्रतिक्रियाहरू हेर्दा फिल्म हेर्न एकखाले दर्शक अधैर्य रहेको देखिन्छ ।
विक्की महर्जनको लेखन एवं निर्देशन रहेको फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, विशाल पहारी, महेश त्रिपाठी, हेम महर्जन, सुमन भण्डारी लगायतको अभिनय रहेको छ । अमित अग्रहरि र निशा गुइडेको लगानी रहेको फिल्ममा निर्देशक महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको छायांकन, साहिल खानको सम्पादन र रोमन बज्रचार्यको ब्याकग्राउन्ड म्यूजिक छ ।