पछिल्लो समय अभिनेत्री ऋचा शर्माको फिल्ममा भूमिका बदलिएको देखिन्छ । उनी एकपछि अर्को फिल्ममा आमाको भूमिकामा देखिरहेकी छन् । पछिल्लो रिलिज फिल्म ‘सारंग’ होस् वा आगामी चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राजागंज’, उनी आमाको भूमिकामा छिन् । नयाँ फिल्म ‘बलिदान’मा पनि उनले अभिनेता समीर भट्टकी आमाको भूमिकामा अभिनय गरेकी छन् ।
सोमबार ‘राजागंज’को ट्रेलर रिलिज कार्यक्रममा उनलाई पत्रकारले प्रश्न गरे, ‘अब मेकरले तपाईंलाई आमाको भूमिकाबाहेक अरुमा नदेखेका हुन् ?’ जवाफमा उनले पहिलो फिल्म ‘फर्स्ट लभ’मा नै आफूले आमाको भूमिका निर्वाह गरेको स्मरण गरिन् । र, आमाको भूमिका गर्न कुनै समस्या नभएको उनको भनाइ छ । कलाकार भएपछि लिड रोल मात्र गर्न पाइँदैन भन्नेमा पनि ऋचा स्पष्ट छिन् ।
उनी भन्छिन्, ‘मैले पहिलो फिल्म ‘फर्स्ट लभ’मै आमाको भूमिका निभाएकी थिएँ । ‘हाइवे’मा पनि आमाको भूमिका थियो । यसपछि पनि आमाको भूमिका धेरै गरेँ । कलाकारको करिअरमा लिड रोल मात्र गर्न पाइँदैन । त्यसका लागि मानसिक रुपमा तयार हुनुपर्छ । एक समयपछि क्यारेक्टर र सहायक रोल पाइन्छ । त्यसलाई मैले कति न्यायपूर्वक निभाएँ भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण रहन्छ ।’
ऋचा ‘पासिङ’ सिन मात्रै भए पनि फिल्ममा काम गर्ने बताउँछिन् । उनी भन्छिन्, ‘मलाई फिल्म मात्र गर्न आउँछ । त्यसैले फिल्ममा मलाई १० सिन आए पनि, ५ सिन आए पनि, लिड आए पनि, सपोर्टिङ रोल आए पनि, पासिङ मात्रै आए पनि म काम गर्छु । यदि त्यो अर्थपूर्ण छ भने । त्यो सबै टिम र मेकरमा भर पर्ने कुरा हो । यसैले मलाई सपोर्टिङ वा आमाको रोलले कहिल्यै फरकै पारेन ।’
ऋचाको बुझाइमा नेपालमा मेन लिडलाई धेरै ‘ग्ल्यामराइज’ गरिएको छ । ‘जसरी मिडियाहरुले हामीलाई हिरो, हिरोइन र क्यारेक्टर रोल भनेर सम्प्रेषण गर्दै आइरहेको छ, साँच्चै भन्ने हो भने त्यो नेपालबाहेक अन्त कुनै इन्डस्ट्रीमा हुँदैन । हामी मेन लिडहरुलाई धेरै नै ‘ग्ल्यामराइज’ गर्छौं, जसले गर्दा बाँकी सबै भुल्छौं । जबकि, फिल्म बन्ने भनेको ‘टिमवर्क’ले हो, मेन लिडले होइन,’ उनले भनिन् ।
ट्रेलर सार्वजनिक कार्यक्रममा ‘राजागंज’का निर्देशक दीपक रौनियारले बलिउडले सिकाएको हिरो र हिरोइनको मान्यताबाट बाहिर निस्कनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘अहिलेको यो जमानामा हामीले अलि फराकिलो सोच बनाउनुपर्छ । क्यारेक्टर रोल भन्ने हुँदैन । रोल भनेको रोल हो । मुख्य भूमिकामा देख्न छाडेपछि उसलाई सपोर्टिङ भन्ने कुरा भारतले सिकाएको हो, त्यो विर्सनुपर्छ ।’