मिति : २०८१ चैत्र २०, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजाको ६ महिने ‘ब्रेक’

फिल्मीखबर, काठमाडौं, 2025/03/05

pooja sharma

 

चर्चा र विवादको पर्याय मानिएकी अभिनेत्री पूजा शर्माको फिल्मी करिअर २०७९ सालयता सुखद छैन । ३ वर्षमा ‘सम्झना बिर्सना’, ‘सम्हालिन्छ कहिले मन’, ‘उपहार’, ‘दान्भी’ र ‘रावायण’ गरी उनका ५ वटा फिल्म फ्लप भए । ‘रावायण’ उनी आफैंले निर्माण गरेको फिल्म थियो । यसबाट उनले ठूलो घाटा बेहोर्नुपर्‍यो । फिल्मको श्रृंखलाबद्ध असफलताले यतिबेला उनी संकटको अवस्थामा छिन् ।

‘रावायण’पछि उनले फिल्म गरेकी छैनन् । जसले गर्दा उनलाई फिल्म नै अफर हुन छाडेको चर्चा भैरहेको छ । सोमबार नयाँ ‘इभी’ गाडी खरिद गरेपछि मिडियासँगको कुराकानीमा उनले फिल्मबाट अफर नभएको भन्ने चर्चाको खण्डन गरिन् । आफूले ६ महिना विश्राम लिने योजना अनुरूप नै ‘रावायण’पछि फिल्म नगरेको उनको भनाइ छ । बैशाखपछि भने फिल्ममा फर्किने उनले बताइन् ।

उनले भनिन्, ‘मैले फिल्म नपाएको भन्ने चर्चा पनि सुनिरहेको छु । मैले ‘रावायण’कै बेला ६ महिना ‘होलिडे’ लिन्छु भनेर भनेको थिएँ । किनकि, मेरो लगातार फिल्महरु आइरहेको थियो । त्यसैले ६ महिना ‘ब्रेक’ लिने योजना बनाएको थिएँ । त्योबेला कतिजना स्क्रिप्ट लिएर आउनुहुन्थ्यो । तर, मेरो मन फिल्मतिर नै थिएन । किनकि, मलाई आराम चाहिएको थियो । अब बैशाखदेखि फिल्म गर्नेछु ।’

पूजाले बैशाखसम्म आफ्नो साढे सातको दशा रहेको पनि बताएकी छन् । भन्छिन्, ‘अहिले मेरो साढे सातको दशा चलिरहेको रहेछ । बैशाखदेखि त्यो दशा सकिन्छ । त्यसपछि म राम्रोसँग आफ्नो ‘ट्रयाक’मा हिँड्छु ।’ आगामी वर्ष लगातार २/३ वटा फिल्ममा काम गर्ने तयारी भइरहेको उनको भनाइ छ । त्यसमध्ये एउटा फिल्म पूजाले अभिनेत्री रेखा थापासँग गर्नेछिन्, जुन एक्सन प्रधान हुनेछ ।