हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको फिल्म ‘जनै हराएको बाहुन’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बरालको मुख्य भूमिका रहने फिल्ममा अब दुई अभिनेत्रीको प्रवेश भएको छ । उनीहरु हुन्, केकी अधिकारी र मिरुना मगर । फिल्मका निर्माताले गत सोमबार दुवै अभिनेत्रीसँग लिखित सम्झौता गरेका हुन् ।
प्राप्त जानकारी अनुसार फिल्ममा विजयको जोडी बनेर केकी देखिनेछिन् । यसअघि उनीहरुले फिल्म ‘हुर्रे’मा सहकार्य गरेका थिए । ‘जनै हराएको बाहुन’मा मनिष राउत, गौरव पहाडी र रियर राईको पनि अभिनय रहनेछ । बैशाखअघि नै छायांकनको तयारी गरिएको फिल्मलाई आगामी हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज गर्ने लक्ष्य राखिएको छ ।
भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद रहेको फिल्मले गाउँबाट आफ्नो सपना पूरा गर्न सहर पुगेको एक पात्रले भोग्नुपरेको अनपेक्षित परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । फिल्मको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् ।
केही हप्ताअघि फिल्मको थिम भिडियो सार्वजनिक गर्दै कथावस्तुबारे प्रकाश पारिएको थियो । जसमा गाउँका दुई साथीमध्ये एकले गाउँ छाडेर सहर हिँड्ने बेलामा साथीसँग गरेको बिदाइको संवाद छ । पेपरक्लिप प्रालिको ब्यानरमा बन्न लागेको फिल्मलाई नवीन गुरुङले छायांकन गर्नेछन् । यसमा एसोसिएट निर्देशक अभिनेता मनिष राउत र क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक) छन् ।