‘स्टार’ जन्माउने फ्रेन्चाइजको रुपमा चिनिएको ‘होस्टेल’को तेस्रो श्रृंखला यही शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ । ‘टिकटक स्टार’देखि ‘स्टार किड्स’सम्मको अभिनय रहेको फिल्मलाई एकल रिलिजको दुर्लभ अवसर मिलेको छ । शुक्रबार रिलिजमा दुई हलिउड फिल्म भए पनि नेपालीतर्फ ‘होस्टेल ३’ एक्लै लाग्दैछ । यसैले देशभरका मल्टीप्लेक्सहरूमा फिल्मले राम्रो शो पाएको छ ।
नेपालको सबैभन्दा ठूलो मल्टीलेक्स चेन क्यूएफएक्सले फिल्मलाई देशभरको १६ वटा हलमा गरी ६७ शो दिएको छ । त्यस्तै, दोस्रो ठूलो चेन आईएनआईले चार आउटलेटमा गरेर १६ शो र वान् सिनेमाजले दुई आउटलेटमा ९ शो दिएको छ । काठमाडौं उपत्यका र उपत्यकाबाहिरका हलहरूमा गरी फिल्मले पहिलो दिनका लागि डेढ सय शो पाएको देखिन्छ । यो शो संख्या उत्साहजनक हो ।
‘होस्टेल’का अघिल्ला दुई श्रृंखलाले घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेका थिए । त्यसले गर्दा पनि प्रदर्शकहरूले ‘होस्टेल ३’लाई शो दिन कञ्जुसाइँ नगरेको देखिन्छ । दर्शकले चिनेका कलाकार, ट्रेलरले बनाएको हाइप र ‘टिक टिक टिक’ गीतको लोकप्रियता पनि फिल्मले राम्रो शो पाउनुको एउटा आधार हुनसक्छ । अब उपलब्ध शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती फिल्मलाई रहनेछ ।
सशान कँडेलको निर्देशनमा बनेको फिल्ममा पारस बम (कुल ब्वाय), रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ लगायतको अभिनय छ । फिल्ममा निर्देशक कँडेल स्वयंको कथा र माधव शर्माको पटकथा तथा संवाद छ । होस्टेलमा बसेर पढ्ने विद्यार्थीहरूको रमाइलो र संघर्षको कथामा फिल्म आधारित छ ।