ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘द्रोपदी’को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेटभन्दा लामो ट्रेलरले कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गर्छ । फिल्मले नेपालमा विद्यमान बहुपति प्रथाको कथा उठाएको छ । रोजगारीका लागि विदेश गएका श्रीमानको दाजुभाईसँग सम्बन्ध राख्न बाध्य पारिएकी एक महिलाको कथालाई ट्रेलरले मर्मस्पर्शी रुपमा देखाएको छ ।
फिल्ममा निर्देशक आचार्य स्वयं मुख्य भूमिकामा प्रस्तुत छन् । उनको जोडी अभिनेत्री आश्विनी शाहीसँग बाँधिएको छ । ट्रेलर हेर्दा फिल्मको कथा आश्विनीमा केन्द्रित देखिन्छ । यही फिल्मबाट गायक रवि ओडले अभिनेताको रुपमा डेब्यु गरेका छन् । कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सुरज अधिकारीलगायतको पनि फिल्ममा अभिनय छ ।
आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘द्रोपदी’मा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सह-निर्मातामा छन् । मोहनकुमार झिल्लुको छायांकन र ड्रोन रहेको फिल्ममा रवि ओडको संगीत, विष्णु ठडराईको कोरियोग्राफी, अनिल कुमार महर्जनको कलर एवं सम्पादन, कोविन्द सोनीको साउन्ड डिजाइन र सौरभ शर्मा बस्यालको ब्याकग्राउन्ड स्कोर छ ।