शुक्रबारबाट प्रदर्शन यात्रा थालेको फिल्म ‘होस्टेल ३’ले बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । शुक्रबार कामकाजी दिनमा पनि फिल्मले देशभरका हलहरूमा ५० प्रतिशतमाथि अकुपेन्सी हासिल गरेको थियो । शनिबार भने फिल्मको व्यापारमा उछाल आएको छ । प्राप्त शोहरूमा बिहानैदेखि देशभर दर्शकको उत्साहप्रद उपस्थिति देखिएको छ । र, प्रतिक्रिया पनि सकारात्मक मिलेको छ ।
काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीले शनिबार बिहानैदेखि प्रायः हलहरूमा शतप्रतिशत र केहीमा ८० देखि ९० प्रतिशत अकुपेन्सी रहेको जानकारी दिए । त्यस्तै, काठमाडौं उपत्यका बाहिरका वितरक रोहित कट्टेलले फिल्मलाई दर्शकको व्यापक साथ मिलेको बताए । वितरकहरुका अनुसार फिल्मले शनिबार मात्र देशभर गरी एक करोडमाथिको व्यापार गर्ने निश्चित देखिएको छ ।
शुक्रबारदेखि फिल्मका कलाकारहरुले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । शनिबार फिल्मका शीर्ष अभिनेता पारस बम ठकुरी (कुल ब्वाय) कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा पुग्दा उनलाई दर्शकहरुले काँधमा बोकेका थिए । हलहरूमा पारसकै फ्यान क्रेज बढी देखिन्छ । टिकटकमा चर्चित भएकाले पनि उनलाई हेर्न हलमा दर्शकहरू ओइरिएका छन् ।
फिल्म हेर्ने धेरैजसो दर्शकले कथावस्तु, कलाकारहरूको अभिनय, सेकेन्ड हाफको ‘ट्विस्ट एन्ड टर्न’ र क्लाइमेक्स मन पराएका छन् । कतिपयले ‘होस्टेल’को अघिल्ला दुई श्रृंखलाभन्दा पनि उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । फिल्म हेर्ने प्रायः ‘जेन-जी’ पुस्ता छन् । ‘वर्ड अफ माउथ’ बलियो रहेकाले आगामी दिनमा पनि फिल्मले दर्शकको राम्रो साथ पाउनेमा निर्माण टिम विश्वस्त देखिएको छ ।
गायक समेत रहेका निर्देशक सशान कँडेलले आफ्नो पहिलो निर्देशनमा नै दर्शकबाट अप्रत्याशित माया पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘फिल्मले उत्साहजनक व्यापार गरेको छ, तर मेरो लागि सबैभन्दा ठूलो उपलब्धि दर्शकहरूको माया र सकारात्मक प्रतिक्रिया नै हो । व्यापार त महत्त्वपूर्ण छ, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा दर्शकले फिल्मलाई कसरी आत्मसात् गर्छन् भन्ने हो ।’
माधव शर्माले पटकथा तथा संवाद लेखन रहेको ‘होस्टेल ३’मा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ लगायतको अभिनय छ । होस्टेलमा बसेर पढ्ने विद्यार्थीहरूको रमाइलो र संघर्षको कथामा आधारित भएर बनेको फिल्ममा अर्जुन तिवारीले डिओपी तथा विकास दाहालको सम्पादन रहेको छ ।
‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक
प्रदर्शनको दोस्रो दिन शनिबार ‘होस्टेल ३’को ‘राजा रानी’ बोलको गीत सार्वजनिक गरिएको छ । किरण माइकलको संगीत, सुजाता पाण्डे, सशान कँडेल र किरण माइकलको स्वर तथा वेला बोम्जन र सुधा मरहट्ठाको शब्द रहेको गीतको भिडियोमा मोडल आश्मा विश्वकर्माले नृत्य गरेकी छन् भने फिल्मका कलाकारहरू रिहान गिरी, आशिष घिमिरे र पदम तामाङ पार्टी मुडमा देखिएका छन् ।