आगामी चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राजागंज’ (पूजा, सर)को टिमले दर्शकसम्म पुग्न फरक अभ्यास गरेको छ । प्रायः नेपाली फिल्मको प्रदर्शनभन्दा २/३ दिनअघि काठमाडौं केन्द्रित प्रिमियर गरिन्छ । र, त्यसमा फिल्मकर्मीहरुको उपस्थिति बढी रहन्छ । तर, ‘राजागंज’को भने विभिन्न सहरमा विशेष शोको आयोजना गर्दै निर्माताले दर्शकको प्रतिक्रिया बुझिरहेका छन् ।
गत बिहीबार विर्तामोड र शुक्रबार इटहरीमा विशेष शोको आयोजनापछि शनिबार नारी दिवसको अवसरमा फिल्मको छायांकन भएको सहर जनकपुरमा प्रिमियर गरियो । जनकपुरमा अवस्थित गिरिजा हलमा गरिएको रेड कार्पेट प्रिमियरमा जनकपुरधामका मेयर मनोजकुमार साहदेखि प्रहरीका उच्चपदस्थ पदाधिकारीहरु उपस्थित भएका थिए ।
निर्देशक दीपक रौनियार, कलाकारहरु आशा मगराती, आरती मण्डल, पुष्पा यादव, रिंकु गायत्री मिश्रालगायतको उपस्थिति रहेको प्रिमियरमा सहभागीले फिल्मको खुलेरै प्रशंसा गरे । मेयर साहले महिलाहरु फिल्मको मुख्य पात्र पूजा सरजस्तै आँटिलो, हिम्मतिलो र जोशिलो हुनुपर्ने बताए । उनले भने, ‘अहिलेका महिलाहरु कमजोर छैनन् भन्ने फिल्मले देखाउँछ ।’
विभिन्न सहरमा फिल्मको विशेष शो आयोजना हुँदै गर्दा शनिबार पहिलो गीत ‘इन्द्रेणी’ सार्वजनिक गरिएको छ । प्रवेश मल्लिकको संगीत रहेको गीतमा धिरेन्द्र प्रेमर्शीको शब्द तथा स्मारिका फुयाँलको गायन छ । गीतमा वर्णको आधारमा हुने विभेदलाई प्रस्तुत गरिएको छ । निर्देशक रौनियारले ‘इन्द्रेणी’ गीतलाई फिल्ममा कथावाचनको रुपमा समावेश गरिएको जानकारी दिए ।
बलिउड निर्देशक अनुराग कश्यप कार्यकारी निर्माता रहेको ‘राजागंज’मा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चाण्डक (पूर्वमिस नेपाल), गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा लगायतको अभिनय छ । फिल्मले अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा भन्छ ।