आगामी बैशाख १२ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ । र्याप मिश्रित गीतमा स्वर र शब्द रचना स्याम्मी डी रियल जीको रहेको छ । र्याप गायिकाको रुपमा परिचित उनले यही गीतबाट पार्श्व गायनमा डेब्यु गरेकी हुन् । गीतका संगीतकार तथा संगीत निर्माता सुरज ब्लुज हुन् । मिक्सिङ र मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका छन् ।
गीतको भिडियोमा फिल्मका मुख्य अभिनेत्रीहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, समापिका गौतम, निकिता आचार्यसँगै मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका कलाकारलाई देख्न सकिन्छ । साथै, गायिका स्याम्मी र बक्सर रश्मिला श्रेष्ठ पनि फिचर्ड छन् ।
बलिउडका अनुभवी सह-निर्देशक अनुराग प्रधान र नेपाली फिल्ममा सह-निर्देशन गर्दै आएकी आस्था श्रेष्ठको संयुक्त निर्देशनमा तयार भएको ‘खेल’लाई सिरुपाते कट्सको ब्यानरमा आशिषराज महर्जनले निर्माण गरेका हुन् । फिल्मको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित रहेको जनाइएको छ ।
लुइसराज महर्जन कार्यकारी निर्माता तथा कुनालराज गुरुङ र रहिशराज महर्जन सह-निर्माता रहेको फिल्मको कथा आशिषराज महर्जनको हो भने पटकथा अभितेन्द्र र अनुराग प्रधानको रहेको छ । संवाद विष्णु गैरेले तयार पारेका हुन् । अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथीको कथालाई फिल्मले देखाउनेछ । फिल्ममा रोशन राई र सञ्जय लामाको छायांकन छ ।