यही फागुन २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको एक्सनप्रधान फिल्म ‘आउट ल : दफा २१९’ दुई साताअघि सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । एक्सन र मेकिङमा अब्बल देखिएको ट्रेलरले फिल्मप्रति दर्शकमा उत्साह र अपेक्षा बढाएको छ, जुन निर्माण टिमका लागि ठूलो चुनौती हो । ट्रेलरलाई युट्युबमा मिलेको प्रतिक्रिया हेर्ने हो भने धेरैले हलिउड र साउथ फिल्मसँग दाँजेका छन् ।
ट्रेलर हेर्दा फिल्ममा एक्सनलाई ज्यादा जोड दिइएको देखिन्छ । तर, निर्देशक विक्की महर्जनले फिल्ममा एक्सन मात्र नरहेको स्पष्ट पारेका छन् । उनी भन्छन्, ‘यसमा एक्सन मात्र छैन । एक्सनसँगै देशको महत्वपूर्ण विषयलाई उठान गरेका छौं । फिल्ममा एक्सन, ड्रामा, कमेडी, थ्रीलर सबै छ । यसमा हेर्नका लागि धेरै कुरा छन् । ‘सरप्राइज’ पक्ष पनि धेरै छ । ट्रेलरमा सबै कुरा खोलेका छैनौं ।’
निर्देशक महर्जनले फिल्मको कथा कसैसँग नमिल्ने पनि दाबी गरेका छन् । एकजना गुण्डा नाइकेबाट प्रभावित भएर फिल्म बनेको चर्चाबारे उनले भने, ‘यो काल्पनिक कथा हो । कोही पनि व्यक्तिसँग मिल्दैन । क्यारेक्टर ग्याङस्टार भए पनि यो बदला र न्यायको कथा हो । यसको कथावस्तु गह्रुङ्गो छ ।’ उनले नेपालमा भइरहेको चित्त नबुझेका कुरालाई फिल्ममार्फत देखाउन खोजेको बताए ।
त्यस्तै, फिल्मका निर्माता अमित अग्रहरि ‘आउट ल’ले एक्सनमा नयाँ ‘बेन्चमार्क’ सेट गर्ने बताउँछन् । उनी भन्छन्, ‘हामीले फिल्ममा यस्तो एउटा विषय ल्याएका छौं, जुन भन्न आवश्यक थियो । मलाई एक्सनमा यो फिल्मले नयाँ ‘बेन्चमार्क’ नै खडा गर्छ जस्तो लाग्छ । मैले कमाउने सोच राखेर फिल्म निर्माण गरेको होइन । नयाँ सोच र नयाँ विषयवस्तु भएका कारणले फिल्ममा लगानी गरेको हुँ ।’
नेपालमा बनिरहेका फिल्मभन्दा ‘आउट ल’ एकदमै अलग रहेको उनको दाबी छ । ‘हामीले कयौं एक्सनप्रधान फिल्म हेरेका छौं तर त्यसमा फिल आउन सकेको छैन । ‘आउट ल’ले त्यो महसुस गराउँछ,’ उनले अगाडि भने, ‘टिजर र ट्रेलरलाई दर्शकहरुले एकदमै राम्रो प्रतिक्रिया पनि दिनुभएको छ । यो हाम्रो ठूलो सफलता हो । यसले अर्को फिल्म बनाउन पैसा उठाइदियो भने म खुसी हुन्छु ।’