नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा आधारित फिल्म ‘अञ्जिला’को धरानपछि काठमाडौंमा प्रिमियर गरिएको छ । सोमबार ललितपुरस्थित लबिम हलमा आयोजित प्रिमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्यो । फिल्म हेरेर निस्किँदा फिल्मकर्मीदेखि सञ्चारकर्मीसम्मको आँखामा आँसु देखिएको थियो ।
प्रिमियरमा उपस्थित अधिकांशले नेपालमा बनेका बायोपिकमध्ये ‘अञ्जिला’ सबैभन्दा उत्कृष्ट रहेको दाबी गर्दै खेल खेले बिग्रिन्छ भन्ने सामाजिक सोचलाई छिचोल्दै एन्जिलाले फुटबल टिमको कप्तानसम्मको यात्रा गर्नु एउटा ठूलो युद्ध जितेभन्दा पनि कठिन रहेको र त्यो जीवनीलाई उत्कृष्ट रूपमा उतारिएको भन्दै निर्देशक मिलन चाम्सको प्रशंसा गरे ।
प्रिमियरका प्रमुख अतिथि सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले ‘अञ्जिला’ नयाँ पिँढीका लागि प्रेरणा हुने बताए । उनले भने, ‘हामीले सधैँ एन्जिलाको खेल देख्यौँ, उनको क्याप्टेनशिप देखेका थियौँ तर, एन्जिला हुनुमा उनले कति सङ्घर्ष गरेको रहेछ, कति पसिना र आँसु बगेको रहेछ भन्ने फिल्मले देखायो । यो फिल्म नयाँ पिँढीको लागि प्रेरणा हुन्छ ।’
फिल्म हेरेपछि भावुक हुँदै निस्किएकी अभिनेत्री केकी अधिकारीले फिल्मले आफ्नो मन छेडेर गएको प्रतिक्रिया दिइन् । ‘महिलाले खेलकुदमा यो किसिमको एउटा सफलता पाउनुको पछाडिको सङ्घर्ष के कस्तो थियो भन्ने विषय फिल्ममार्फत आएको छ,’ उनले भनिन्, ‘निर्देशकले सुन्दर रूपमा एन्जिलाको वास्तविक जीवनलाई सामाजिक मूल्यमान्यता अनुसार पर्दामा उतार्नुभएको छ ।’
प्रिमियरमा पूर्व आईजीपी दुर्जकुमार राई, पूर्व पुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा एन्फाका पूर्व अध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राई, अभिनेत्री तथा मोडल अलिशा राई, निर्देशकहरू ज्ञानेन्द्र देउजा, नवल नेपाल, लक्ष्मण सुवेदी, सञ्चारकर्मी प्रकाश सुवेदी लगायतको पनि उपस्थिति रहेको थियो ।
प्रिमियरमा फिल्मको तर्फबाट अभिनेता दयाहाङ राई, निर्देशक मिलन चाम्स, निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ र सह-निर्माता विनोद अग्रवाल उपस्थित थिए । फिल्मको कथाकी पात्र तथा प्रमुख अभिनेत्री एन्जिला तुम्बापो सुब्बा व्यावसायिक फुटबल खेल्न ग्रिसमा र अन्य प्रमुख कलाकारहरू छायांकनमा व्यस्त भएकाले प्रिमियरमा उपस्थित हुन सकेनन् ।
निर्देशक मिलन चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू अवाक् भएको बताए । ‘मैले एन्जिलालाई ‘तिमीले अभिनय नगर, जीवनमा जे भोगेको छौ त्यति नै देखाऊ’ भनेको थिएँ । म आफैंले पनि हरेक पटक फिल्म हेर्दा भावुक हुने गरेको छु । यसपटक दर्शकको प्रतिक्रियाले रोएँ,’ चाम्सले भने ।
फिल्ममा एन्जिला र दयाहाङसहित प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ । एन्जिलाको फुटबलप्रतिको चाहना, घरबाहिर निस्कन गरेको सङ्घर्षदेखि काठमाडौं आएर राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा फिल्ममा छ । निर्माता श्रेष्ठले फिल्मको आम्दानीबाट एन्जिलाका लागि काठमाडौंमा घर बनाइदिने घोषणा गरिसकेका छन् ।