राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘महाभोज’ गणतन्त्र दिवसको दिनबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी जेठ १५ गते बिहीबारलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । सो मितिमा नेपालसहित विदेशमा फिल्म एकसाथ रिलिज हुने जनाइएको छ ।
ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको पोस्टरमा फिल्मका प्रमुख कलाकारहरू गम्भीर भावमा चित्रित छन् । पोस्टरको केन्द्रमा आर्यन सिग्देललाई देख्न सकिन्छ । उनले शिरमा कालो टोपी र कोटमा नेपाली झन्डा अंकित लोगो झुन्ड्याएका छन् । यसले उनी नेताको भूमिकामा रहेको संकेत गर्छ ।
आर्यनको दायाँ र बायाँ खगेन्द्र लामिछाने र दयाहाङ राईलाई राखिएको छ । उनीहरूको अनुहारमा आक्रोश, पीडा र अन्यायको भाव देखिन्छ । उनीहरूसहित फिल्मका मुख्य अभिनेत्रीहरू अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत पनि पोस्टरमा चित्रित छन् । पोस्टरको पृष्ठभूमिमा भने नेपाली मुद्रा झल्किने डिजाइन छ, जसले आर्थिक असमानता र सत्ताको प्रभावलाई संकेत गर्छ ।
निर्देशक राउतले सामाजिक यथार्थपरक विषयमा फिल्म बनेको बताए । उनले भने, ‘समाजमा हुने विश्वासघात र भ्रष्टाचारविरुद्धको कथा यसमा छ । सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेविरुद्धको विद्रोही स्वर फिल्मले प्रस्तुत गर्छ ।’ ‘महाभोज’ उनको आठौँ फिल्म हो । उनको निर्देशित पछिल्लो फिल्म ‘पूजार सार्की’ सुपरहिट भएको थियो ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको ‘महाभोज’का निर्माता हिमाल कडरिया हुन् । उनले यसअघि ‘नाङ्गो गाउँ’ र ‘दुःखी आत्मा’ निर्माण गरेका थिए । फिल्मको स्क्रिप्ट ‘पूजार सार्की’ र ‘प्रकाश’का लेखक विकास सुवेदीले लेखेका हुन् । यसमा राजेश श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व तथा मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।