विश्वका थुप्रै फेस्टिभलहरू चहारिसकेको फिल्म ‘राजागंज’ आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । तर, फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले भने प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । सोमबार साँझ फिल्मको जाँचपछि बोर्डले केही दृश्य तथा शब्दहरुमा आपत्ति जनाउँदै त्यसलाई सच्चाएर ल्याउन निर्देशन दिएको निर्देशक दीपक रौनियारले बताए ।
विशेषगरी बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई-तीनटा आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको हो । त्यसलाई हटाउन वा फिल्ममा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको छ ।
निर्देशक रौनियार भन्छन्, ‘हामीले सञ्चार मन्त्रालयबाट अनुमति लिएरै फिल्म बनाएका हौं । प्रधानमन्त्री कार्यालयबाट लिने त होइन । हामीले फिल्ममा एउटा बाइट प्रयोग गरेका छौं । त्यो भिडियो खिचेको मिडियासँग हामीले अनुमति लिएरै फिल्ममा राखेका हौं । त्यो कुरामा सेन्सरले प्रधानमन्त्री कार्यालयबाट पत्र लिएर आउनु भनेको छ । हामी प्रधानमन्त्री कार्यालय चाहिँ कुन आधारले जाने ?’
निर्देशक रौनियारका अनुसार बोर्डले प्रधानमन्त्री, कालो-गोरो जस्ता शब्द समेत नराख्न भनेको छ । त्यो हटाउँदा फिल्म नै मर्ने उनी बताउँछन् । भन्छन्, ‘हामी फेरि सेन्सरका लागि जाँदैछौं । बोर्डले भनेका कति कुरा हामी मान्ने पक्षमा नै छौं । तर, फिल्मको मर्म मारिदिनु भएन भन्ने मात्र विन्ती हो । प्रधानमन्त्री, कालो-गोरो, भारत जस्ता शब्द पनि नराख्नु भन्नुहुन्छु । त्यो हटाउँदा फिल्मै मर्छ ।’
फिल्मको बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर राखिएको छ । तर, फिल्म सेन्सरमा अड्किएकाले प्रिमियर मात्र नभइ प्रदर्शन समेत अन्योय बनेको छ । तर, सेन्सर हुनुभन्दा अगाडि नै इटहरी, विर्तामोड, जनकपुर, चितवन जस्ता सहरमा फिल्मको प्रिमियर शो आयोजना भइसकेको छ । कानुनतः सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएसम्म फिल्म देखाउन पाइँदैन ।