मिति : २०८१ फाल्गुन २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आउट ल’ र ‘अञ्जिला’ले कति पाए शो ?

फिल्मीखबर, काठमाडौं, 2025/03/12

anjila and out law

 

होलीको दिन पारेर यही फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेका दुई फिल्म ‘आउट ल : दफा २१९’ र ‘अञ्जिला’लाई देशभरका मल्टीप्लेक्सहरुले शो बाँडफाँड गर्दै अग्रिम टिकट बुकिङ खुलाएका छन् । दुवै फिल्मलाई राम्रो शो मिलेको छ । ‘आउट ल’ले १०३ र ‘अञ्जिला’ले ९८ शो पाएको खल्ती एपमा देखिन्छ । अब उपलब्ध शोलाई अकुपेन्सीमा बदल्नुपर्ने ठूलो चुनौती दुवै फिल्मलाई छ ।

दुवै फिल्म फरक-फरक विषयमा बनेका छन् । ‘आउट ल’ एक्सनप्रधान फिल्म हो । टिजर र ट्रेलरबाट पनि त्यो प्रष्ट हुन्छ । यसमा अभिनेता सुशील श्रेष्ठ एक्सन भूमिकामा प्रस्तुत छन् । ‘अञ्जिला’ भने बायोपिक फिल्म हो । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षमा फिल्म आधारित छ ।

१६ वर्षमुनिका बालबालिकालाई अभिभावकको साथ चाहिने गरी सेन्सर बोर्डबाट ‘पीजी सर्टिफिकेट’ पाएको ‘आउट ल’लाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । अमित अग्रहरिको निर्माण रहेको फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौड्याल, विशाल पहारी लगायतको अभिनय छ । फिल्ममा नविन गुरुङको छायांकन र साहिल खानको सम्पादन छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको ‘अञ्जिला’मा कप्तान एन्जिला तुम्बापो सुब्बा स्वयं प्रमुख भूमिकामा छिन् । यसमा दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, सुनिल थापा, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको पनि अभिनय छ । फिल्ममा एन्जिलाको फुटबलप्रतिको चाह, घरबाहिर निस्कन गरेको सङ्घर्षदेखि काठमाडौं आएर महिला फुटबल टिमको कप्तान हुँदासम्मको कथा छ ।